रसुवा, २४ भदौः भोटेकोशी बाढीका कारण थुनिएको चिलिमे जलविद्युत् केन्द्रको सुरुङ खुलाउने कार्य तीव्र रूपमा अगाडि बढेको छ ।
कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरुङको प्वाल खोल्न थालिएको हो ।
चिलिमे जलविद्युत् केन्द्रका केन्द्र प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो पन्छाउने काम भइरहेको छ । निरन्तरको प्रयासपछि हालसम्म करिब १०० मिटर सुरुङको लेदो हटाइसकिएको उहाँले जानकारी दिनुभयो ।
उद्धार कार्य यही गतिमा अघि बढ्े बिहीबार साँझसम्म सम्पर्कविहीन प्राविधिक कर्मचारी भेटिने आशा गरिएको छ । नियन्त्रण कक्षको लेदो हटाइएपछि ती प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास छ ।
विद्युत् केन्द्र सञ्चालनमा रहेकाले सुरुङभित्र रहेका तीन जना प्राविधिक कर्मचारी नियन्त्रण कक्ष (कन्ट्रोल रुम)मा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो ।
बाहिरी सतहबाट सुरुङको पेनस्टक पाइपसम्मको दूरी करिब ३०० मिटर भए पनि कार्यालय तथा कन्ट्रोल रुम भने करिब १५० मिटरको दूरीमा रहेको केन्द्र प्रमुख विष्टले बताउनुभयो । सुरुङको व्यास छ मिटर रहेको प्राविधिकले जनाएका छन् ।
नेपाली सेनाको ६ नम्बर वाहिनीका वाहिनीपति उज्ज्वल विक्रम राणाको कमान्डमा सुरुङ खुलाउने तथा प्राविधिक कर्मचारीको खोज तथा उद्धार कार्य भइरहेको छ । उद्धार कार्यमा भइरहेको प्रगतिसँगै सुरुङभित्र रहेका तीन जना प्राविधिकलाई जीवितै उद्धार गर्न सकिने आशा पलाएको चिलिमे जलविद्युत् केन्द्रका प्राविधिकहरूले बताएका छन् ।
उद्धारका लागि आवश्यक प्राविधिक सहयोग तथा स्थलगत अनुगमन गर्न नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, सिभिल इन्जिनियर श्रीराम न्यौपाने र सङ्घीय सांसद सागर ढकाल घटनास्थलमा रहेर नेपाली सेनाले गरिरहेको उद्धार कार्यको अनुगमन गरिरहेको केन्द्र प्रमुख विष्टले जानकारी दिनुभयो ।
विसं २०६० साल भदौ ८ गतेदेखि विद्युत् उत्पादन सुरु गरेको चिलिमे जलविद्युत् केन्द्रको क्षमता २० मेगावाट रहेको छ । केन्द्रबाट वार्षिक १३ करोड ७० लाख युनिट विद्युत् उत्पादन हुँदै आएको थियो ।