भदौ ३०, २०८३ मंगलबार

म्याग्दी, ३० भदौः म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तीज विशेष कार्यक्रमका लागि बिनियोजन भएको बजेट बाढी पीडितलाई सहयोग गरिएको छ । 

    वडा कार्यालयको प्रस्तावमा धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि बिनियोजन गरेको रु एक लाख बजेट तीज विशेष कार्यक्रम नगरी रसुवा बाढीका पीडितका लागि सहयोग गर्ने निर्णय भएको हो । 

    वडा अध्यक्ष अशोक खत्रीले आमा समूह र स्थानीय सङ्घसंस्थामार्फत हरेक वर्षको तीज पर्वका दिन आयोजना हुने कार्यक्रमका लागि बिनियोजन भएको बजेट शिर्षकान्तर गरी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिनुभयो । 

    “आमा समूहका प्रतिनिधि र जनप्रतिनिधिले देशमा बाढीका कारण शोकमा डुबेको अवस्थामा कार्यक्रम नगरी पीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्ने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो । 

    यसअघि धवलागिरी गाउँपालिकाले विपद् ब्यवस्थापन कोषमार्फत भदौ १० गतेको रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा रु दुई लाख पठाएको छ ।