भदौ ३१, २०८३ बुधबार

चितवन, ३१ भदौः  भरतपुर महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्यचौकीबाट  विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । यसका लागि भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सहकार्यसमेत भएको छ । 
 
पश्चिम चितवनका बासिन्दालाई साना–साना स्वास्थ्य समस्या र स्वास्थ्य बिमाको उपचारका लागि  भरतपुर अस्पताल नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने  उद्देश्यले यो कदम चालिएको महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले वताउनुभयो । उहाँका अनुसार शारदानगर स्वास्थ्यचौकीको स्वामित्वमा रहेको कुल दुई बिघा सात कट्ठा जग्गामध्ये १४ कट्ठा जग्गा स्वास्थ्यचौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ । बाँकी जग्गा प्रचलित ऐन तथा कानुनी मापदण्ड पूरा गरी आवश्यक नापी प्रक्रिया अगाडि बढाएर भोगचलनका लागि अस्पताललाई दिइने सम्झौतापत्रमा उल्लेख छ ।
 
कार्यवाहक प्रमुख अधिकारीका अनुसार महानगरपालिकाले हाल पूर्वाधार निर्माण तथा उपकरण खरिदका लागि रु एक करोड विनियोजन गरेको छ । यस रकमबाट एक्स–रे र इन्डोस्कोपी मेसिन खरिद गरिने र भवन मर्मत गरी बिरामी जाँचकक्ष तथा प्रशासनिक काउन्टर व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।  सुरुआती पूर्वाधार तयार भएपछि सेवाको पूर्ण सञ्चालन जिम्मेवारी भरतपुर अस्पतालले लिनेछ ।

साथै यो स्वास्थ्यचौकीमार्फत बालबालिका र महिलासम्बन्धी उपचार, हाडजोर्नी परीक्षण, बिमा सेवा र प्रयोगशाला (ल्याब रिपोर्ट) सेवासम्म समेटिने छ । शल्यक्रिया वा भर्ना आवश्यक भएमा बिरामीलाई अन्यत्र रेफर नगरी भरतपुर अस्पतालमै थप उपचारका लागि पठाइनेछ ।

भरतपुर अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले भरतपुर अस्पतालमा बढ्दो भीडभाड कम गर्ने र गुणस्तरीय सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले अगाडि बढाइएको हो । उहाँका अनुसार सुरुआती चरणमा विशेषज्ञ सेवा राखिनेछ, साथै प्रयोगशाला र फार्मेसी सेवा पनि उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, “भरतपुर अस्पतालमा हामीले जुन सेवा दिन्छौँ, त्यही सेवा उहाँहरूले त्यहीँ पाउनुहुनेछ ।”

सुरुमा बहिरङ्ग (ओपिडी) सेवाबाट सञ्चालन हुनेछ । त्यसपछि आवश्यकता र सञ्चालन क्षमताको आधारमा क्रमशः आकस्मिक सेवा, अन्तरङ्ग र शल्यक्रिया सेवासम्म विस्तार गर्दै दीर्घकालमा ठूलो अस्पतालमा रूपान्तरण गर्ने सोच रहेको उहाँले बताउनुभयो । सरकारी अस्पतालले यो तहको विशेषज्ञ सेवा पहिलोपटक दिन लागेको बगाले बताउनुहुन्छ ।
 
सेवा सुरु हुनुअघि न्यूनतम भौतिक पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । सरसफाइ व्यवस्था, पहुँच बाटो, प्रतीक्षालय, सेवाग्राही प्रतीक्षालयजस्ता कार्यहरू महानगरपालिकाले सम्पन्न गरेसँगै सेवा सुरु गरिने उहाँले जानकारी दिनुभयो ।