काठमाडौँ, १ असोजः विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रका क्षेत्रीय निर्देशक डा. हनान एच. बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारीमा नेपालबाट समर्थन पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा डा. बाल्खीले आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै नेपालको समर्थनको अपेक्षा गरेको बताउनुभयो ।
डा. बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा गर्नुभयो ।
परराष्ट्रमन्त्री खनालले कठिन समयमा साउद अरबले नेपालप्रति व्यक्त गरेको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्यसम्बन्धी जोखिम तथा रोगको प्रभाव नेपाललगायत विकासशील मुलुकमा बढ्दै गएको बताउनुभयो ।
मन्त्री खनालले जलवायुजन्य स्वास्थ्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहकार्य र प्रभावकारी स्वास्थ्य प्रणाली आवश्यक भएको बताउनुभयो ।
त्यस अवसरमा नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिकरलगायत सहभागी हुनुहुन्थ्यो ।