असोज ४, २०८३ आइतबार

धनकुटा, ४ असोजः स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ । 

    बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ । 

    नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले राससलाई जानकारी दिनुभयो । हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उहाँले बताउनुभयो । 

    बाँदर आतङ्कबाट किसान प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन् । बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो रु १०० का दरले १०० किलो बेसारको बीउ खरिद गरेको थियो । उत्पादन भएको बेसारको बीउ खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो ।