सुदूरपश्चिम, ६ असोजः सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँका विपद्पीडितलाई राहत सामग्री प्रदान गरेको छ ।
धनगढीमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले आज स्थानीय जनप्रतिनिधिलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो । प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रदेश सरकारले ५० थान कम्बल, ४० थान टेन्टलगायत आवश्यक सामग्री हस्तान्तरण गरेको मन्त्रालयको विपद् शाखाका जनक धामीले जानकारी दिनुभयो ।
सामग्री हस्तान्तरण गर्दै कानुनमन्त्री थारुले प्रभावित नागरिकलाई तत्काल अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको र आवश्यकताअनुसार थप सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकार बाढी तथा सबै प्रकारका विपद् प्रभावित नागरिकको साथमा रहेको बताउनुभयो । मन्त्री थारुले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका पूर्वतयारीलगायत काममा स्थानीय तथा सङ्घीय सरकारसँग मिलेर विविध कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
केही दिनअघि मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्तीमा जमिन निरन्तर धसिँदा स्थानीय विस्थापित भएको भन्दै बस्ती पुनःस्थापनाको माग गर्दै गाउँपालिका र स्थानीयवासीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाएका थिए ।