न्युयोर्क, ८ असोजः संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क आइपुग्नुभएका परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घीय महासभामा भाग लिन आउनुभएका विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधि मण्डलसँगको भेटघाटमा व्यस्त हुुनुभएको हो ।
व्यस्त कार्यसूचीकाबीच सोमबार साँझदेखि नै यहाँ आयोजित द्विपक्षीय, बहुपक्षीय र सामरिक रुपमा महत्व रहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै उहाँले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटघाट गरिरहनुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी
नियोगले जनाएको छ ।
मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउनुहुँदै दुःखद् क्षणमा छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।
त्यस अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले परराष्ट्रमन्त्री खनालमार्फत नेपाल र नेपाली जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी, नेपालको मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमीत्सुसँग पनि मन्त्री खनालले भेटवार्ता गर्नुभयो । त्यस अवसरमा मन्त्री खनालले नेपालको हालैको विपत्तिसँग जुध्न तथा नेपाललाई परेको विपद्का बेलामा जापानले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो भेटका अवसरमा बाढीपछिको असहज अवस्थामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै जापानी परराष्ट्रमन्त्रीले नेपालको आपतकालीन अवस्थालाई दृष्टिगत गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न तयार रहेको जानकारी गराउनुभएको थियो ।
उहाँले आपतकालीन सहयोगअन्तर्गत ३० लाख अमेरिकी डलर तत्कालै उपलब्ध गराइने जानकारी पनि मन्त्री खनाललाई दिनुभएको थियो । दुवै देशका परराष्ट्रमन्त्रीहरु यहाँ आयोजित संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत ‘साइडलाइन’ बैठकमा परराष्ट्र«मन्त्री तोसिमीत्सुले उक्त भनाइ राख्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा मन्त्री तोसिमीत्सुले नेपालमा भएको महाविपत्तिको कारणले व्यहोर्नुपरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारजनमा सहानुभूति रहेको दोहोर्याउनुभयो ।
न्युयोर्कस्थित नेपाली मिसनका अनुसार जापानको घनिष्ट मित्रका हैसियतले नेपाललाई यथासक्य सहयोग गर्ने जापानको चाहना रहेको पनि मन्त्री तोसिमीत्सुले भेटमा बताउनुभएको थियो ।
यसैगरी, नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ७० वर्षको वर्षगाँठ यसैवर्षसमेत परेकाले त्यस अवसरमा ‘नोभेम्वर’मा काठमाडौँमा आयोजना हुने नेपाल–जापान ‘फेष्टिवल’ले दुई देशको मितवत् सम्बन्धलाई थप उचाई पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभएको थियो ।
व्यस्त कार्यसूचीका बीच परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताअन्तर्गत नै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग भेटघाट गर्नुभयो । मन्त्री खनालसँगको भेटपछि उपविदेशमन्त्री हुकरले बाढीका कारण अप्ठ्यारोमा परेको नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । लगत्तै, अमेरिकाकोतर्फबाट नेपाललाई थप तीन करोड १० लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय सार्वजनिक भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा हुकरले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण पीडित व्यक्ति तथा परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको थियो । सोही अवसरमा उहाँले एक करोड अमेरिकी डलर स्थायी पुल निर्माणको लागि प्रदान गरिने जानकारी पनि गराउनुभएको थियो ।
यसैगरी, उहाँले ८० लाख अमेरिकी डलर रकम सरसफाई, पिउने पानी, आश्रयस्थल निर्माण र बाढी प्रभावित नागरिकको जीवनरक्षाका लागि समुदायलाई प्रदान गरिने उल्लेख गर्नुभयो । सो विज्ञप्तिमा प्रकोपका बारेमा जानकारी दिने प्रयोजनका लागि करिब एक करोड ३० लाख अमेरिकी डलर बराबरका ड्रोन उपलब्ध गराइने पनि उल्लेख गरिएको छ ।
यसैगरी, साइडलाइन भेटवार्ताकै क्रममा परराष्ट्रमन्त्री खनालले युगाण्डा, माल्दिभ्सलगायतका देशका परराष्ट्र मन्त्रीहरुसँग पनि भेटघाट गरेर जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।
व्यस्त कार्यसूचीकाबीच परराष्ट्रमन्त्री खनालले जलवायु न्यायका पक्षमा ऐक्यबद्धतासहित आवश्यक सहयोगका पक्षमा सदस्य राष्ट्रहरुसँग ‘लविङ’ गरिहनुभएको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ ।
उहाँले यी भेटवार्ताका क्रममा नेपालमा जलवायु परिवर्तनका कारण विविध समस्या उत्पन्न भइरहेको र भोटेकोशी नदीमा गएको बाढी त्यसको पछिल्लो उदाहरण रहेको जानकारी गराउँदै जलवायु न्यायका लागि नेपाललाई सहयोग गर्न विश्वका नेता, आफ्ना समकक्षीहरु र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आग्रह गरिरहनुभएको छ ।
मन्त्री खनालले अमेरिकी चेम्बर अफ कमर्शका प्रतिनिधिलाई भेटेर लगानी, व्यापारलगायत विषयमा छलफल पनि गर्नुभयो ।
साथै मन्त्री खनालले मङ्गलबार नै भारत सरकारले अयोजना गरेको ‘ग्लोबल साउथ’ कार्यक्रममा सहभागिता जनाएर मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन पनि गर्नुभयो ।
यसैबीच, राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह बुधबार न्युयोर्क आइपुग्नुभएको छ ।
प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेर स्वदेश फर्कने कार्यक्रम रहेकाले परराष्ट्रमन्त्री खनाल साइडलाइन बैठकमा व्यस्त हुनुहुने कार्यसूची छ ।
मन्त्री खनाल अरु केही दिन न्युयोर्कमै रहने भएकाले साइडलाइन भेटवार्ता एवं बैठक अरु पनि हुने कार्यसूचीमा रहेको छ । मन्त्री खनालसँगै परराष्ट्रमन्त्रालयका सचिव अमृतबहादुर राई र वासिङ्टनडिसीस्थित नेपाली दूतावासका प्रतिनिधि पनि सहभागी हुनुभएको छ ।
यसैगरी, कतिपय राष्ट्रसङ्घीय साइडलाइन बैठकहरूमा संयु्क्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी हुनुहुन्छ ।