धनुषा, ९ असोजः भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकको निर्णय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचना र सतर्कतालाई आधार बनाउँदै विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाइएको जनाएको हो ।
मन्त्रालयका अनुसार सम्भावित विपद्को समयमा आवश्यक खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि तथा उद्धार सामग्रीको पूर्वव्यवस्था गरी तत्काल परिचालन गर्न सक्ने अवस्थामा राखिएको छ । सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार उद्धार तथा सुरक्षाकार्यमा परिचालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
सम्भावित विपद्बाट बढी प्रभावित हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी त्यहाँ रहेका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको मन्त्रालयले उल्लेख गरेको छ । ज्येष्ठ नागरिक, बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहको सुरक्षामा विशेष ध्यान दिइएको छ ।
आवश्यक परे जोखिमयुक्त क्षेत्रबाट उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहसँग समन्वय गरी सम्भावित जोखिमको अवस्था पहिचान, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।
विपद्का समयमा सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउन नियमित रूपमा मौसम, बाढी तथा अन्य जोखिमसम्बन्धी सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य, विद्युत् र सञ्चारजस्ता अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई उत्तिकै प्राथमिकता दिइएको छ ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले नदी, खोला तथा डुबानको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त स्थानमा नजान अनुरोध गरिएको जानकारी दिनुभयो ।
मन्त्री महतोले विपद्को समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाभन्दा सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र सुरक्षासम्बन्धी सन्देशलाई आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार प्रदेशका सबै स्थानीय तहसँग समन्वय गरी स्थानीयस्तरमा पूर्वतयारी, उद्धार, राहत तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने व्यवस्था मिलाइएको छ । सम्भावित विपद्को अवस्थामा प्रदेश, जिल्ला तथा स्थानीय तहका संयन्त्रबीच समन्वय गरी आवश्यक जनशक्ति र स्रोतसाधन तत्काल परिचालन गरिने उहाँले बताउनुभयो ।
‘सतर्क रहौँ, सुरक्षित रहौँ’ भन्ने सन्देशसहित मन्त्री महतोले विपद्को जोखिम न्यूनीकरण तथा सम्भावित क्षति कम गर्न प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार क्षेत्र र नागरिक समाजलगायत सबैलाई सहयोग र समन्वयका लागि आग्रह गर्नुभएको छ ।