असोज ९, २०८३ शुक्रबार

दाङ, ९ असोजः लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । 

भारी वर्षाको जोखिमसँगै हुनसक्ने खतराबाट बच्न  सर्वसाधारणलाई सुरक्षित अवस्थामा रहन आग्रह गरिएको हो । मौसम विज्ञान विभागले लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्रदेश सरकारले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ ।

प्रदेश सरकारले १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक सङ्घसंस्थासँग समन्वय गरी सम्भावित जोखिम र प्रतिकार्यको तयारी गरिरहेका छन् ।

     प्रदेशका जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले सम्भावित विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र प्रदेश सरकारले जिल्ला तथा स्थानीय तहसँग निरन्तर समन्वय गरिरहेको छ ।

     प्रमुख सचिव विनोदबहादुर कुँवरले जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसार विपद् प्रतिकार्यको तयारीलाई मजबुत बनाइएको छ ।  सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित सरोकारवाला निकायबीच सूचना आदानप्रदान तथा आवश्यक स्रोतसाधन परिचालनका लागि समन्वय भइरहेको छ ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पहिरो, भूक्षय र बाढीको जोखिम बढी रहेको छ भने तराईका जिल्लामा नदी तथा खोलामा पानीको सतह बढ्दा बाढी र डुबानको जोखिम बढ्ने देखिएको छ । 

प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले पनि आजदेखि १२ गतेसम्म सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ । 

मन्त्रालयले बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न अनुरोध गरेको हो ।