हेटौँडा, १६ असोज : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रदेश नीति तथा योजना आयोगको पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ।
प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूको शुक्रबार आयोजित शपथग्रहण कार्यक्रममा उहाँले रसुवा, नुवाकोट, धादिङ र चितवनका विपद् प्रभावित क्षेत्रमा आयोगको टोली परिचालन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक योजना तयार गरिने बताउनुभयो।
“नीति तथा योजना आयोग गठन भइसकेपछि प्रभावित क्षेत्रमा आयोगको टोली खटाउँछौँ। पुनर्निर्माण र पुनःस्थापना हाम्रो पहिलो प्राथमिकता रहनेछ”, मुख्यमन्त्री थापा मगरले भन्नुभयो।
उहाँले विपद्का कारण मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण योजनाबद्ध रूपमा अघि बढाइने बताउनुभयो। प्रदेशको विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारका क्षेत्रमा समेत आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो।
मुख्यमन्त्री थापा मगरले विगतका योजना तथा कार्यक्रमका कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने क्षेत्र निर्धारण गर्न तथा आगामी विकास योजनालाई प्रभावकारी बनाउन आयोगको विज्ञता उपयोग गरिने बताउनुभयो।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. देवराज रोकालाई तथा सदस्यमा सुनिता गौतम, दीपकविक्रम थापा र सुरेन्द्रवर सिंह थापालाई नियुक्त गरेको थियो।
नवनियुक्त उपाध्यक्ष रोका, दीपकविक्रम थापा र सुरेन्द्रवर सिंहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नियुक्त सदस्य सुनिता गौतम कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेकाले उहाँलाई पछि शपथ गराइने मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो।
उहाँले नवनियुक्त पदाधिकारीलाई प्राप्त जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै प्रदेशको समृद्धिका लागि आफ्नो विज्ञता उपयोग गर्न आग्रह गर्नुभयो।