नुवाकोट, १८ असोजः कोरियाली चिकित्सकको संस्था कोरियन मेडिकल एशोसिएसनले नुवाकोटका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ । एशोसिएसनको टोलीले विदुर नगरपालिका-१ का बाढी प्रभावित करिब २२० परिवारलाई जाडोमा प्रयोग हुने ब्ल्याङ्केट, लत्ताकपडालगायत सामग्री आज प्रभावित क्षेत्रमै पुगेर वितरण गरेको हो ।
नजिकिँदो जाडोलाई लक्षित गरी प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउन पाएकामा आफूहरू खुसी भएको कोरियाली टोलीका नेता डा चोइ जेङ सेवले बताउनुभयो । राहत वितरणसँगै चिकित्सकको टोलीले बाढीपछि प्रभावित क्षेत्रमा देखिएको स्वास्थ्य अवस्थाबारेसमेत जानकारी लिएको नेपाल-कोरिया मानवीय सहायता समन्वयकर्ता रुद्र शर्माले जानकारी दिनुभयो ।
यसैगरी, नेपालका लागि कोरियाली अवैतनिक वाणिज्यदूत डा जिअनले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन टोली आएको र आगामी दिनमा पुनःस्थापनाका क्रममा आवश्यक संरचना निर्माणमासमेत सहयोग गरिने बताउनुभयो । विदुर नगरपालिकासँग समन्वय गरी सम्बन्धित वडामार्फत करिब रु २० लाख बराबरको कोरियाली सहायता वितरण गरिएको स्थानीय नारायण प्याकुरेलले जानकारी दिनुभयो ।