लमजुङ, १८ असोजः पहिले गाउँको जीवनसँग पानीको कलकल आवाजसँगै जोडिएको थियो पानीघट्ट । खोलाको पानीलाई कुलोमार्फत घट्टसम्म पुर्याइन्थ्यो र त्यही पानीको शक्तिले ढुङ्गा घुमाएर घरघरको अन्न पिसिन्थ्यो । गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्वपूर्ण आधारसमेत थियो ।
मकै, कोदो, गहुँ, जौ, धानलगायत अन्न पिस्न प्रयोग हुने पानीघट्टमा गाउँलेको दैनिकी, श्रम र पुर्खाको सीप जोडिएको थियो । घट्टमा अन्न पिसाएबापत पैसा नभई केही अन्न दिने चलन थियो । तर अहिले समय फेरिएको छ । गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएको छ ।
कुनै समय लमजुङका दर्जनौँ गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन् । दूधपोखरी गाउँपालिका-२ विचौरका स्थानीय विनायक दवाडीका अनुसार इलामपोखरी, विचौरलगायत ठाउँमा पहिले पानीघट्ट गाउँलेको अन्न पिस्ने प्रमुख आधार थिए । स्थानीयले घट्टमा अन्न पिसाउने र त्यसबापत केही अन्न दिने चलन थियो । अहिले भने गाउँबाट पानीघट्ट हराइसकेको उहाँले बताउनुभयो ।
“पहिले पानीघट्टमा गाउँलेको ठूलो भर थियो । अन्न पिस्नका लागि घट्टमै जाने र त्यसबापत केही अन्न दिने चलन थियो । अहिले गाउँमा पानीघट्ट नै छैनन्”, दवाडीले भन्नुभयो । उहाँका अनुसार गाउँमा सडक पुगेपछि गाडीमार्फत नयाँ प्रविधि र आधुनिक मिलको पहुँच बढ्न थालेसँगै समय र श्रम बचत हुने भएपछि गाउँलेले परम्परागत पानीघट्टको सट्टा आधुनिक प्रविधि प्रयोग गर्न थालेकाले पुर्खाको सीप र घट्ट हराउँदै गएको उहाँको भनाइ छ ।
“सडक पुगेपछि नयाँ प्रविधि गाउँसम्म आइपुग्यो । समय र श्रम बचत हुने भएकाले गाउँले पनि आधुनिक प्रविधितर्फ आकर्षित भए । त्यससँगै पुर्खादेखि चलिआएको पानीघट्ट हराउँदै गएका छन्”, दवाडीले भन्नुभयो । पानीघट्ट हराउँदै जाँदा पुर्खाले प्रयोग गर्दै आएको परम्परागत प्रविधि र सीपसमेत नयाँ पुस्ताबाट टाढिँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मस्र्याङ्दी गाउँपालिका-४ का स्थानीय प्रदीप गुरुङका अनुसार एक दशकअघिसम्म गाउँका मिप्रा र छाप्रामा पानीघट्ट सञ्चालनमा थिए । गाउँमा बिजुली पुगेपछि आधुनिक मिलको प्रयोग बढ्दै गयो र पानीघट्ट क्रमशः हराउँदै गएका उहाँको भनाइ छ । “एक दशकअघिसम्म हाम्रो गाउँमा मिप्रा र छाप्रामा पानीघट्ट थिए । बिजुली आएपछि गाउँले आधुनिक तरिकातर्फ लागे । त्यसपछि पानीघट्ट चल्न छाडे र अहिले गाउँबाटै लोप भइसकेका छन्”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको छ । अहिलेका युवापुस्ताले पुर्खाले कसरी पानीघट्ट सञ्चालन गरेर अन्न पिस्थे भन्नेसमेत थाहा पाउन कठिन हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
क्व्होलासोथार गाउँपालिका-४ भुजुङका स्थानीय हेमन्ता गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा पाँच, छ वटासम्म पानीघट्ट सञ्चालनमा थिए । गाउँलेहरू अन्न पिस्न तिनै घट्टमा निर्भर हुन्थे । अहिले भने गाउँमा एउटा मात्र पानीघट्ट बाँकी छ । “पहिले गाउँलेको अन्न पिस्ने मुख्य आधार पानीघट्ट थियो । अहिले आधुनिक मिल आएपछि यसको प्रयोग घट्दै गयो”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार पानीघट्ट पुर्खाले छाडेर गएको सीप, कला र स्थानीय प्रविधिको चिनारीसमेत हो । यस्ता पुख्र्यौली सम्पदा संरक्षण गर्न नसके भावी पुस्ताले आफ्नो मौलिक प्रविधि र सीपबारे प्रत्यक्ष जान्ने अवसर गुमाउने उहाँको भनाइ छ ।
क्व्होलासोथार-५ सिङ्दीका घरबास सञ्चालक हुकुमबहादुर गुरुङले केही वर्षअघिसम्म सिङ्दीमा पनि पाँच-छ वटासम्म पानीघट्ट सञ्चालनमा रहेकामा अहिले भने एउटा मात्र पानीघट्ट प्रयोगमा रहेको बताउनुभयो । सिङ्दी र माथिपश गाउँका स्थानीयलेसमेत यही घट्ट प्रयोग गर्दै आएका छन् । उहाँका अनुसार आधुनिक मिलको सहजता र छिटोछरितो पिसानीका कारण पानीघट्टप्रति स्थानीयको आकर्षण घट्दै गएको हो ।
गाउँमा आउने पर्यटकका लागि भने पानीघट्ट अझै चासोको विषय बन्ने गरेको घरबास सञ्चालक गुरुङले बताउनुभयो । “आजको पुस्ताका लागि यस्तो प्रविधि नौलो लाग्छ । गाउँमा आउने पर्यटकलाई पनि यसले आकर्षित गर्छ । त्यसैले पानीघट्टलाई प्रयोगसँगै संरक्षण र पर्यटनसँग जोड्न सके अझ राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।
पानीघट्टको संरक्षण एउटा पुरानो अन्न पिस्ने साधन जोगाउनु मात्र होइन, पुर्खाले विकास गरेको स्थानीय ज्ञान, सीप र प्रविधिलाई जीवन्त राख्नु पनि रहेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । आधुनिकताको विस्तारसँगै हराउँदै गएको पानीघट्टलाई संरक्षण गर्नसके लमजुङको मौलिक गाउँले जीवन र पुख्र्यौली प्रविधिको इतिहास भावी पुस्तासम्म पुर्याउन सकिन्छ ।
गाउँमा बाँकी रहेका पानीघट्टलाई जीर्ण हुन नदिइ संरक्षण गर्ने, आवश्यक मर्मतसम्भार गर्ने र स्थानीय उत्पादन तथा पर्यटनसँग जोड्ने हो भने लोपोन्मुख अवस्थामा पुगेको यो पुख्र्यौली सम्पदालाई नयाँ पुस्तासम्म पुर्याउन सकिन्छ । आधुनिकताको दौडमा हराउँदै गएको पानीघट्ट केबल विगतको सम्झना नभई लमजुङको गाउँले जीवन, पुर्खाको सीप र मौलिक प्रविधिको जीवित दस्तावेज भएकाले यसको संरक्षण आवश्यक देखिएको छ ।