कात्तिक ११, २०८३ बुधबार

वासिङ्टन, ११ कात्तिक (रासस÷सिन्ह्वा): अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ‘वाल स्ट्रिट जर्नल’ ले बुधबार यस्तो समाचार प्रकाशित गरेको हो ।

    उक्त समाचार अनुसार, अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको तीव्र सैन्य कारबाहीको तयारी गरिरहेका छन् । मध्यपूर्वमा रहेका अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः पूर्ति गरिरहेका छन् भने बमवर्षक र लडाकु विमानहरू पनि सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएका छन् ।

    इजरायलले पनि सम्भावित नयाँ आक्रमणका लागि योजना तयार पारेको र लक्ष्यहरू पहिचान गरिसकेको जर्नलले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम निर्णय गरि नसके जनाउँदै इरानका पूर्वाधार र आणविक केन्द्रहरूलाई लक्षित गरी ठूलो आक्रमण गर्ने तिर अघि बढेको समाचारमा उल्लेख छ ।

    यस अघि इरानसँग कुनै सम्झौता गर्ने प्रयास पनि गर्न सक्ने बताउँदै गत हप्ता ट्रम्पले अमेरिकाले फेरि अर्को बमबारी अभियान सुरु गर्न सक्ने वा इरान कुनै सम्झौताका लागि सहमत हुन सक्ने बताउनुभएको छ ।  

    राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचन अघि भने इरानमाथि आक्रमण नगर्ने बताउँनुभएको छ ।