बार्सिलोना, ११ कात्तिक (रासस/एपी): मध्य स्पेनमा बुधबार एउटा तीव्र गतिको रेल रोकिएको अर्को रेलको पछाडिको भागमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा रेलका दुई डिब्बा लिकबाट बाहिरिएका छन् ।
स्पेनी अधिकारीले सुरुमा १० जनाको मृत्यु भएको बताएका थिए । तर सरकारी समाचार संस्था ईएफई लगायतका सञ्चारमाध्यमले पछि मृतकको सङ्ख्या बढेर कम्तीमा ३० पुगेको जनाएका छन् ।
रेल सञ्जाल सञ्चालक संस्था एडीआईएफका अनुसार, दुर्घटना बुधबार बिहान टोलेडो प्रान्तमा भएको हो । घटनापछि म्याड्रिड, सिउदाद रियल र आन्डालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ ।
कास्टिला–ला मान्चा क्षेत्रकी प्रवक्ता एस्थर पाडिलाले सरकारी प्रसारण संस्था टीभीईलाई बताएअनुसार, राजधानी म्याड्रिडबाट दक्षिणपश्चिमी सहर सेभिलतर्फ गइरहेका दुई रेलबीच दुर्घटना भएको हो । रोकिएको रेलको पछाडिको भागमा अर्को रेल ठोक्किँदा दुई डिब्बा लिकबाट बाहिरिएका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
उर्दा र लस येबेनेस सहरबीच खेतबारीले घेरिएको समथर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा एउटा रेलको डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने त्यसका धातुका टुक्रा र अन्य सामग्री घटनास्थलमा छरिएका छन् ।
स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले टीभीईलाई बताएअनुसार, उद्धारकर्मीहरू सबैभन्दा बढी क्षति पुगेका दुई डिब्बामा फसेका यात्रुको उद्धार र शव निकाल्न केन्द्रित छन् । घाइतेहरूलाई आसपासका विभिन्न अस्पतालमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
“ठक्कर निकै तीव्र थियो । त्यसैले यो ठूलो त्रासदी हुने अनुमान गरेका छौँ,” गार्सियाले भन्नुभयो ।
स्पेनी सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा सरकारी रेल कम्पनी रेनफे र निजी रेल सङ्लग्न थिए । प्रारम्भिक विवरणअनुसार, रेनफेको रेलले इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो । यसअघि जनवरीमा पनि यी दुई कम्पनीका रेल सङ्लग्न घातक दुर्घटना भएको थियो ।
पाडिलाका अनुसार, रेनफेको रेलमा ३९७ र इरियोको रेलमा १४७ यात्रु सवार थिए । इटालेली स्वामित्वको इरियोले विज्ञप्ति जारी गर्दै आफ्ना सुरक्षा प्रोटोकल सक्रिय पारेको र सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।
नजिकैको उर्दा सहरका मेयर म्यानुएल गालानले टीभीईलाई बताएअनुसार, नागरिक सुरक्षा अधिकारीहरूले घाइते यात्रुको हेरचाहका लागि स्थानीय खेलकुद भवन तयार पार्न नगरपालिकालाई आग्रह गरेका थिए । उद्धार कार्यमा आपत्कालीन सेवा, दमकल र प्रहरीलाई सहयोग गर्न सैन्य आपत्कालीन टोलीसमेत परिचालन गरिएको थियो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनापछि आफ्नो पूर्वनिर्धारित कार्यक्रम रद्द गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।
“आपत्कालीन सेवाहरू घटनास्थलमा यात्रुको उद्धार र उपचारमा खटिएका छन् । मृतकका परिवार र आफन्तप्रति मेरो गहिरो समवेदना छ,” उहाँले लेख्नभएको छ ।
कास्टिला–ला मान्चा क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजले आफू दुर्घटनास्थलतर्फ जाँदै गरेको सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।
यसअघि जनवरीमा दक्षिणी स्पेनमा एउटा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा ८० जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि त्यो घटना स्पेनको सबैभन्दा घातक रेल दुर्घटना बनेको थियो । जनवरीको दुर्घटनाले देशको व्यापक उच्च गतिको रेल सेवाप्रतिको विश्वासमा समेत धक्का पु¥याएको थियो ।
उच्च गतिको रेल सञ्जालमा स्पेन अग्रणी
स्पेन उच्च गतिको रेल सेवामा विश्वका अग्रणी देशमध्ये एक हो । देशले पछिल्ला दशकमा यस क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । स्पेनी रेलवे युनियनका अनुसार, उच्च गतिको रेल भन्नाले प्रतिघण्टा २५० किलोमिटर वा सोभन्दा बढी गतिमा चल्ने रेलका लागि निर्माण गरिएको ट्र्याकमा सञ्चालन हुने रेललाई बुझिन्छ ।
करिब चार करोड ९० लाख जनसङ्ख्या भएको स्पेनमा तीन दशकभन्दा बढी समय लगाएर करिब तीन हजार ९०० किलोमिटर उच्च गतिको रेलमार्ग निर्माण गरिएको छ । इन्टरनेसनल युनियन अफ रेलवेजका अनुसार, एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीनमा करिब ४५ हजार किलोमिटर उच्च गतिको रेलमार्ग छ । चीनपछि स्पेनसँग विश्वकै सबैभन्दा विस्तृत उच्च गतिको रेल सञ्जालमध्ये एक रहेको छ ।
स्पेनले पछिल्लो समय आफ्नो रेल सञ्जाल निजी कम्पनीका लागि पनि खुला गरेको छ । यससँगै निजी कम्पनीहरूले सरकारी रेल सेवा प्रदायक रेनफेसँग प्रतिस्पर्धा गर्न थालेका छन् । इरियोले सन् २०२२ मा स्पेनमा रेल सेवा सञ्चालन सुरु गरेको थियो ।