गण्डकी, १८ कात्तिकः उद्यमशीलता र नवप्रवर्तनमार्फत स्वदेशमै उद्यमी बन्न युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले आज पोखरामा ‘नेपाल स्टार्टअप समिट–२०२६’ आयोजना गरियो । नीति रिसर्च प्रालिले आयोजना गरेको उक्त समिटको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले उद्यमशीलता प्रवर्द्धनका लागि प्रदेश सरकारले ‘गण्डकी स्टार्टअप’ कार्यक्रम सुरु गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । उद्यम सञ्चालन गर्न चाहनेलाई प्रदेश सरकारले अनुदानसहित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत युवा पुस्तालाई उद्यमशीलता र रोजगारीसँग जोड्ने काम गरेको बताउनुभयो ।
“पोखराभित्र स्वरोजमूलक व्यवसाय सञ्चालन गर्दै आउनुभएका उद्यमीलाई प्रविधि र तालिम उपलब्ध गराउने काम पनि महानगरले गरिरहेको छ”, उहाँले भन्नुभयो, “महानगरले सञ्चालन गरिरहेको स्टार्टअपबाट पनि धेरैले लाभ लिइरहनुभएको छ ।” नगरप्रमुख आचार्यले स्टार्टअप अहिलेको जल्दोबल्दो र महत्वपूर्ण विषय रहेको बताउनुभयो । नवीन सोच र सिर्जनात्मक विचारलाई उद्यमशीलतासँग जोडेर रोजगारी सिर्जना गर्नु नै स्टार्टअपको मुख्य उद्देश्य भएको उहाँको भनाइ छ ।
नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले स्टार्टअपसँग युवाहरूको भविष्य जोडिएको बताउनुभयो । प्रविधि र नवप्रवर्तनमार्फत युवाहरुले स्वदेशमै उद्यम तथा रोजगारीका अवसर सिर्जना गर्न सक्ने उहाँको भनाइ छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप कार्यक्रमले लगानीकर्तालाई अवसरको पहिचान गर्न सघाउने बताउनुभयो । बैंक तथा वित्तीय संस्था र लगानीकर्तालाई जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।
समिटमा नीतिनिर्माता, सम्बन्धित क्षेत्र विज्ञ, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, उद्यमी, विद्यार्थीलगायतले नेपालमा उद्यम विकासका सम्भावना, अवसर र चुनौतीबारे छलफल गरेका थिए । सहभागीहरुले स्वेदशी उत्पादनमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
बैंकका प्रतिनिधिहरुले स्टार्टअपका लागि दिइने कर्जा योजनाबारे जानकारी गराएका थिए । उनीहरुले नवीन सोचसहितको व्यावसायिक अवधारणा र स्पष्ट परियोजना प्रस्ताव भएमा विनाधितो कर्जा उपलब्ध गराउन सकिने बताएका थिए । कर्जा दिँदा व्यावसायिक योजना र ऋण तिर्न सक्ने क्षमताको मुल्याङ्कन गरिने उनीहरुको भनाइ थियो । समिटमा सहभागी विद्यार्थीले स्टार्टअपका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।
समिटमा युवा तथा विद्यार्थीहरुलाई व्यवसाय योजना तयार गर्ने, लगानी जुटाउने, सरकारी तथा निजी क्षेत्रबाट उपलब्ध सहुलियत र ऋण सुविधा उपयोग गर्ने तथा उत्पादनलाई राष्ट्रिय र अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।
नीति रिसर्च प्रालिका अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअप समिटले उद्यमशीलता प्रवर्द्धनसँगै नीतिनिर्माण तहमा झक्झकाउने काम गरेको बताउनुभयो । “विशेष गरी युवाहरुलाई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले नेपाल स्टार्टअप समिट आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट लगानी र रोजगारीको अवसर सिर्जना हुन्छ, नयाँ सम्भावनाको खोजीका लागि यो महत्वपूर्ण छ ।”
युवाहरुलाई व्यावसायिक क्षेत्रमा सिर्जनशील सोचको विकास गराउने, व्यावसायिक योजना निर्माण तथा सूचना–प्रविधिको प्रयोगबाट विश्व बजारसँग जोडिन स्टार्टअपले सहयोग गर्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो । युवा जनशक्तिलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना जागृत गराई उद्यमी बनाउने र रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
युवाको सिर्जनशीलता, सीप र नवीन सोचलाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यले स्टार्टअप समिट सञ्चालन गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो । गत साउनमा काठमाडौँबाट सुरु भएको नेपाल स्टार्टअप समिट–२०२६ यस वर्ष सातवटै प्रदेशमा आयोजना गरिने नीति रिसर्च प्रालिले जनाएको छ ।