बागमती, २९ कात्तिक: हेटौँडाको राप्ती तटमा आज हजारौँ भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन् । हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा पुगी भक्तजनले अर्घ चढाएका हुन् ।
राप्ती तटमा आयोजित छठ विशेष कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित विभिन्न उच्चपदस्थ सरकारी कर्मचारी, राजनीतक दलका नेता, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रजिअ अधिकारीले छठ नेपालीहरूको मौलिक संस्कृतिमा आधारित पर्व भएको बताउनुभयो । छठलाई लक्षित गरी सबै किसिमको सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताका अनुसार छठलाई लक्षित गरी करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएको छ ।
नदी किनारमा सात फिटको पण्डालसहित भक्तजनका लागि आवश्यक संरचना तयार गरिएको उहाँले बताउनुभयो । हेटौँडामा पछिल्लो २० वर्षयता छठ पूजाप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।