मंसिर १, २०८३ मंगलबार

बाँके, १ मङ्सिर : निलसागर आश्रम ज्येष्ठ नागरिकको आश्रयस्थल बनेको छ । उक्त आश्रयस्थल नेपालगञ्ज उपमहानगरपालिका–९ मा पर्छ । बढैयाताल गाउँपालिकाकी सरिता खनालले सो आश्रम निर्माण गर्नुभएको थियो । सडक दुर्घटनामा भाईको निधन भएपछि भाईको सम्झनामा उक्त आश्रयस्थल विसं २०७३ मा निर्माण गरिएको हो ।  

बागेश्वरी मन्दिर परिसरबाट एक जना वृद्ध बाको उद्धार गरेर सुरु गरिएको आश्रममा हाल ६४५ जना अभिभावकविहीन बालवालिका तथा ज्येष्ठ नागरिकलाई राखिएको आश्रमका मानार्थ सदस्य यमकान्त खनालले जानकारी दिनुभयो । आश्रममा बा, आमा र वृद्धलाई मात्र राख्ने भनेर सेवा भाव राखिएको थियो तर पछि सडकमै गर्भवती महिला भेटिन थालेपछि “निलसागर खुसी बालग्राम” नामकरण गरेर बालबालिकाको उद्धार गरिएको उहाँले बताउनुभयो । 

खनालले आश्रममा बस्ने क्रममा वृद्ध तथा वृद्धा ३००  बुवाआमाको निधन भइसकेको र उहाँहरुको अन्त्येष्टि पनि आश्रमबाट भएको जानकारी दिनुभयो । आश्रममा बालबालिकासहित २४५ जना अशक्त हुनुहुन्छ । जसमध्ये बालवालिकाको सङ्ख्या ८५ छ । 

आश्रममा सबैभन्दा कान्छो एक महिनाको शिशु  हुनुहुन्छ । शिशुको विधिवत न्वारन गरेर आश्रममा स्वागत गरिएको थियो । यहाँ रहेका अधिकांश बालबालिका नेपालगञ्जका प्रतिष्ठित निजी विद्यालयमा अध्ययन गरिरहेको उल्लेख गर्दै निलसागर आश्रमले छात्रवृति कोषमार्फत अध्ययन गरिरहेको जनाएको छ । खनालले कतिपय बालबालिका छुटमा पनि निजी विद्यालयमा अध्ययन गरेको र जसले निजी विद्यालय अध्ययन गर्न सक्दैनन उनीहरुले सरकारी विद्यालयमा अध्ययन गरिरहेको बताउनुभयो । 

उहाँले १० बर्षसम्म पनि भाडाको भवनमा बस्न परेको गुनासो गर्दै आश्रमलाई कुनै प्रकारको सहयोग नभएको बताउनुभयो । त्यहाँ बसेको भाडा मात्रै मासिक रु ५० हजार रहेको छ ।  “हामीले आफ्नै भवन बनाइरहेका छौँ, तर पैसाको अभावले पूरा हुन पाएको छैन, खनालले भन्नुभयो ।”, सो भवन नेपालगञ्ज उपमहानगरपालिका–६ मा निर्माणाधीन अवस्थामा छ । खनालले कोहलपुर र नेपालगञ्जको बिजुली र खानेपानीसहित आवास भाडा मात्रै मासिक करिब रु दुई लाख खर्च हुने जानकारी दिँदै आश्रमको शाखा कार्यालय, दाङ, पोखरा, पाल्पालगायत जिल्लामा रहेका छन् । 

उहाँले नेपालगञ्ज उपमहानगरपालिकाले वार्षिक रु छ  लाख छुट्टाए पनि सो रकम प्रर्याप्त नभएको उल्लेख गर्दै वृद्ध, बुवा, आमाले सेवन गर्ने औषधिमा दैनिक रु दुई हजार खर्च हुने गरेको बताउनुभयो । “यो आश्रम जसरी चलिरहेको छ, कुनै विदेशी दातृ निकायबाट सहयोग लिएका छैनौँ र कुनै प्रकारको त्यस्तो ठूलो सहयोग पनि लिएका छैनौँ, फराकिला मन भएका संस्था वा व्यक्तिले दिएको सहयोगबाट आश्रम सञ्चालन गरिरहेका छौँ”, खनालले भन्नुभयो । 

यति मात्रै होइन, विदेशमा रहनुभएका नेपालगञ्जका व्यक्तित्व, जन्मदिन मनाउने व्यक्तित्व, खास तीथि, वैवाहिक वर्षगाँठमा हुने उत्सवलगायतका विभिन्न कार्यक्रमबाट प्राप्त रकम तथा भोजन खुवाएर आश्रम चलिरहेको उहाँको भनाइ छ । 

फराकिला मन भएकाले एक एक कोठा निर्माण गरेर भवन निर्माण भइरहेको र पर्याप्त रकमको अभावले भवन निर्माणको काम पनि अहिले रोकिएको जानकारी दिँदै खनालले नेपालगञ्जका खास खास चिकित्सकबाट वृद्धवृद्धाको स्वास्थ्य जाँच नि:शुल्क गरिएको बताउनुभयो । 

उहाँले बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य क्षेत्रमा ठूलो धन राशि खर्च भएको औँल्याउँदै लामो समयदेखि विछोड भएका बालबालिकाको पारिवारिक पुन:मिलन पनि गराइएको बताउनुभयो । अहिलेसम्म करिब २०० बालबालिकाको पुन:मिलन गराइएको छ । 

आश्रममा हुर्केकी छोरी संरचना निलसागरले कतिपय घटना हृदयविदारक घटना रहेको जानकारी दिँदै संस्थाकी अध्यक्ष सरिता खनालको पहलमा निर्माण भएको निलसागर आश्रमले अभिभावकविहीन बालबालिका तथा ज्येष्ठ नागरिकका लागि लालनपालन, पोषण, स्वास्थ्यमा लगानी गरिरहेको बताउनुभयो ।