प्रेमनारायण भुसाल
काठमाडौँ, १० मङ्सिर (रासस): काठमाडौँका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस कुरिरहेका दृश्य आजकल सामान्यजस्तै बनेका छन् । जाडोको सिरेटो र कुहिरो छिचोल्दै निद्रालु आँखाले बसको प्रतीक्षा गरिरहेका बालबालिकासँगै अभिभावक पनि सडकमा उभिएका देखिन्छन् । विद्यालय जाने उमेरका बालबालिकाको बिहान यसरी सुरु हुनु र साँझ अध्याँरो भइसकेपछि मात्र घर फर्कनु अहिले सामान्य अभ्यासजस्तै बन्दै गएको छ ।
विद्यालयको समय, पाठ्यपुस्तकको बोझ र सार्वजनिक बिदाका विषयमा बेलाबेला बहस तथा सरकारी निर्देशन आउने गरे पनि बिहानै विद्यालय बोलाउने र साँझ अबेरसम्म राख्ने प्रवृत्तिमा अपेक्षित सुधार हुन सकेको छैन । विशेषगरी दसैँ–तिहारपछि एसइई परीक्षाको तयारीका नाममा बिहानैदेखि अतिरिक्त कक्षा सञ्चालन गर्ने चलन सहरी क्षेत्रका संस्थागत विद्यालयमा व्यापक बन्दै गएको छ । यसले बालबालिकालाई विद्यालयमा बढी समय राख्नु नै गुणस्तरीय शिक्षाको प्रमाण हो भन्ने भ्रमसमेत छर्ने गरेको छ ।
एसइईको नतिजा राम्रो बनाउने नाममा विद्यार्थीलाई बिहानदेखि साँझसम्म विद्यालयमै राख्ने अभ्यासलाई कतिपय विद्यालयले ‘सेमि–होस्टेल’ को स्वरूप दिएका छन् । खाना, खाजा र अतिरिक्त कक्षाका नाममा अभिभावकबाट छुट्टै शुल्कसमेत लिने गरिएको छ । छोराछोरीको भविष्य राम्रो बनाउने अपेक्षामा अभिभावकहरू पनि यस्तो व्यवस्थाप्रति सहमत देखिन्छन् तर यसले निम्न तथा मध्यम आय भएका परिवारमा थप आर्थिक भार सिर्जना गरिरहेको छ । शिक्षा प्राप्त गर्ने अवसरलाई आर्थिक क्षमतासँग जोड्ने यस्तो अभ्यासले समान शैक्षिक अवसरको अवधारणामाथि प्रश्न उठाएको छ ।
यसमा विद्यालयको आर्थिक पक्ष र शिक्षकको अतिरिक्त आम्दानीको विषय पनि जोडिएको छ । नियमित कक्षा सञ्चालनबाहेक दसैँदेखि एसइई परीक्षासम्म अतिरिक्त कक्षा चलाउने र त्यसबापत शिक्षकलाई अतिरिक्त पारिश्रमिक दिने प्रचलन कतिपय विद्यालयमा छ । शिक्षकले अतिरिक्त समय दिएबापत पारिश्रमिक पाउनु अन्यथा होइन तर अतिरिक्त आम्दानी र विद्यालयको प्रतिष्ठालाई केन्द्रमा राखेर विद्यार्थीलाई लामो समयसम्म विद्यालयमा राख्ने प्रवृत्ति उचित हुन सक्दैन । शिक्षकको श्रमको सम्मान र विद्यार्थीको मनोसामाजिक स्वास्थ्यबीच सन्तुलन कायम गर्नु विद्यालय व्यवस्थापनको दायित्व हो ।
रटाइ र ग्रेडको प्रतिस्पर्धा
आवश्यकतामा आधारित अतिरिक्त कक्षाको मुख्य उद्देश्य विद्यार्थीको सिकाइमा सहयोग पु¥याउनु हुनुपर्ने हो तर व्यवहारमा पुराना प्रश्नपत्र, नमुना प्रश्न र सम्भावित प्रश्नको अभ्यासलाई नै तयारीको प्रमुख माध्यम बनाउने गरिएको छ । विद्यार्थीले विषयवस्तु कति बुझे, त्यसलाई व्यवहारमा कसरी प्रयोग गर्न सक्छन् र नयाँ परिस्थितिमा कस्तो समस्या समाधान गर्न सक्छन् भन्नेभन्दा परीक्षामा कति अङ्क ल्याउँछन् भन्ने कुराले बढी महत्त्व पाएको देखिन्छ । यसरी सिकाइको उद्देश्य ज्ञान र सीप विकासबाट सरेर निश्चित प्रश्नको उत्तर घोक्ने र उच्च ग्रेड प्राप्त गर्ने प्रतिस्पर्धामा सीमित हुँदै गएको छ ।
विद्यालयको प्रतिष्ठा र विद्यार्थी आकर्षित गर्ने माध्यमका रूपमा एसइईको नतिजालाई प्रयोग गर्ने प्रवृत्तिले यस समस्यालाई थप जटिल बनाएको छ । कक्षा १२ सम्म विद्यालय तह कायम भइसकेको अवस्थामा कक्षा १० को परीक्षालाई नै विद्यालयको गुणस्तर मापन गर्ने प्रमुख आधार बनाउनु कति उपयुक्त छ ? एसइईको नतिजा महत्त्वपूर्ण भए पनि यसले विद्यालयको समग्र शैक्षिक उपलब्धि र विद्यार्थीको वास्तविक क्षमता पूर्ण रूपमा मापन गर्न सक्दैन । यही नतिजामुखी प्रतिस्पर्धाका कारण कमजोर ठानिएका विद्यार्थीलाई अर्को विद्यालयमा कक्षा ९ मै भर्ना गराउने वा प्राइभेट परीक्षार्थीका रूपमा परीक्षा दिलाउनेजस्ता अभ्याससमेत देखिनु चिन्ताको विषय हो । विद्यार्थीको शैक्षिक प्रगतिको जिम्मेवारी लिनुपर्ने विद्यालयले नतिजा कमजोर आउन सक्ने विद्यार्थीलाई नै आफ्नो संस्थाको प्रतिष्ठाका लागि भार ठान्नु शैक्षिक नैतिकतासँग पटक्कै मेल खाँदैन ।
बालबालिकाको सिकाइ क्षमता उमेर, रुचि, शारीरिक अवस्था, मानसिक परिपक्वता र व्यक्तिगत भिन्नताअनुसार फरक हुन्छ । सबै विद्यार्थीलाई एउटै समयतालिका, एउटै अभ्यास र एउटै उपलब्धिको अपेक्षामा बाँध्न सकिँदैन । बिहानैदेखि साँझसम्म विद्यालयमा राखेर लगातार पढाउनु नै प्रभावकारी सिकाइ हो भन्ने मान्यता बालमनोविज्ञान अनुकूल छैन । लामो समयसम्मको मानसिक श्रमपछि बालबालिकालाई पर्याप्त आराम, खेलकुद, मनोरञ्जन, पारिवारिक संवाद र स्वतन्त्र अध्ययनको अवसर पनि आवश्यक हुन्छ ।
विशेषगरी किशोरावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीका लागि शारीरिक परिवर्तनसँगै भावनात्मक र सामाजिक विकास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । उनीहरूलाई आफ्नो रुचि पहिचान गर्ने, साथीहरूसँग घुलमिल हुने, सिर्जनात्मक गतिविधिमा सहभागी हुने र आफ्ना भावना व्यक्त गर्ने अवसर चाहिन्छ । एसइईको तयारीका नाममा यी सबै पक्षलाई गौण बनाइँदा विद्यार्थीमा थकान, तनाव, चिडचिडापन र आत्मविश्वासमा कमी आउन सक्छ । अपेक्षित नतिजा प्राप्त नभएमा हीनताबोध र असफलताको अनुभूति अझ गहिरिन सक्छ । यसबाट परीक्षाप्रतिको मात्र होइन, समग्र सिकाइप्रतिको रुचि नै कमजोर हुने जोखिम बढ्दछ ।
बिहान ६ बजे विद्यालय पुगेका विद्यार्थी साँझ ६–७ बजे घर फर्किएपछि पनि ट्युसन, गृहकार्य र अभिभावकको अपेक्षाको दबाबमा रहनुपर्ने अवस्था छ । उनीहरूको दिनचर्यामा आफ्ना लागि समय नै नहुने स्थिति सिर्जना भएको छ । बालबालिकाले विद्यालयमा बिताएको समयको मात्रा बढ्दैमा सिकाइको गुणस्तर बढ्छ भन्ने हुँदैन, बरु थकित मस्तिष्कले नयाँ कुरा ग्रहण गर्न र त्यसलाई दीर्घकालसम्म स्मरण गर्न कठिनाइ अनुभव गर्नसक्छ । त्यसैले पढाइको अवधि मात्र होइन, सिकाइको वातावरण, विश्राम र शिक्षण विधिको प्रभावकारितालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।
जिपिएभन्दा महत्त्वपूर्ण जीवनोपयोगी सीप
एसइईमा चार जिपिए ल्याउने विद्यार्थी र नियमित तथा सन्तुलित अध्ययन गरेर ३.४५ आसपासकोे जिपिए प्राप्त गर्ने विद्यार्थीमध्ये माथिल्लो तहमा कसको उपलब्धि राम्रो हुन्छ भन्ने विषयमा पर्याप्त आधिकारिक अध्ययन भएको छैन । पङ्क्तिकारले भेटेका केही विद्यार्थीका अनुभवमा सन्तुलित ढङ्गले अध्ययन गरेका विद्यार्थीले कक्षा ११ र १२ मा पनि राम्रो प्रगति गरेको देखिएको छ । यद्यपि, यसलाई सबै विद्यार्थीमा लागु हुने निष्कर्ष मान्न मिल्दैन । यहाँ प्रश्न उच्च जिपिए प्राप्त गर्नु गलत हो भन्ने होइन, त्यसका लागि अपनाइने विधि र चुकाउनुपर्ने मूल्य कति उचित छ भन्ने हो ।
विद्यालय शिक्षाको उद्देश्य विद्यार्थीलाई परीक्षामा सफल बनाउनु मात्र होइन, जीवनका विविध चुनौती सामना गर्न सक्षम बनाउनु पनि हो । विषयवस्तुको ज्ञानसँगै समालोचनात्मक चिन्तन, सञ्चार सीप, सिर्जनात्मकता, सहकार्य, समस्या समाधान र निर्णय क्षमता विकास गर्नु शिक्षाको महत्त्वपूर्ण उद्देश्य हो । यी सीप निरन्तर अभ्यास, अनुभव, अन्तरक्रिया र स्वतन्त्र चिन्तनबाट विकास हुन्छन् । प्रश्नको उत्तर घोकाएर वा सम्भावित प्रश्नको अभ्यास गराएर मात्र यस्ता क्षमता विकास गर्न सकिँदैन । त्यसैले परीक्षाको नतिजालाई विद्यार्थीको सम्पूर्ण क्षमताको पर्याय बनाउनु शैक्षिक दृष्टिले उपयुक्त हुँदैन ।
विद्यार्थीलाई परीक्षाअघि विषयवस्तुको पुनरावृत्ति, अभ्यास, परामर्श र आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ । सन्तुलित आहार, पर्याप्त निद्रा, शारीरिक व्यायाम र मानसिक विश्रामको व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ तर तयारीको अर्थ बालबालिकालाई बिहानदेखि रातिसम्म कक्षाकोठामा थुन्नु होइन । उनीहरूको व्यक्तिगत आवश्यकता र क्षमतालाई ध्यानमा राखेर सीमित, उद्देश्यपूर्ण र प्रभावकारी अतिरिक्त कक्षा सञ्चालन गर्न सकिन्छ ।
एसइईलाई हाउगुजी नबनाइकनै नियमित पठनपाठन र शिक्षाको गुणस्तर सुधार गर्न सकिन्छ । यसका लागि विद्यार्थीमैत्री वातावरण बनाई गुणात्मक शिक्षालाई शिक्षण सिकाइ क्रियाकलापको उद्देश्य बनाउनुपर्छ । यस विषयमा विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक सबै जिम्मेवार छन् । विद्यालयले आफ्नो प्रतिष्ठालाई विद्यार्थीको जिपिएसँग मात्र जोड्नु हुँदैन । शिक्षकले घोकाइभन्दा बुझाइ र प्रयोगमा आधारित शिक्षणलाई प्राथमिकता दिनुपर्छ । अभिभावकले पनि छोराछोरीको क्षमताभन्दा बढी अपेक्षा राखेर उनीहरूलाई अनावश्यक दबाब दिनु हुँदैन । अरूका छोराछोरीले प्राप्त गरेको ग्रेडसँग आफ्ना बालबालिकाको तुलना गर्नुको सट्टा उनीहरूको व्यक्तिगत प्रगति, रुचि र सम्भावनालाई बुझ्नुपर्छ ।
स्थानीय तहले विद्यालयको समयतालिका, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीको स्वास्थ्य र विद्यालयमा बिताउने समयका सम्बन्धमा स्पष्ट मापदण्ड बनाई नियमित अनुगमन गर्न आवश्यक छ । शिक्षा विकास तथा समन्वय एकाइ र सम्बन्धित नियामक निकायले पनि परीक्षाको नतिजालाई मात्र आधार बनाएर विद्यालयको गुणस्तर निर्धारण गर्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ । विद्यालयको मूल्याङ्कन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि, व्यवहार, सिर्जनशीलता, जीवनोपयोगी सीप र मनोसामाजिक स्वास्थ्यलाई समेत समेट्नुपर्छ ।
विद्यालय बालबालिकाले ज्ञान आर्जन गर्ने, जिज्ञासा व्यक्त गर्ने, गल्तीबाट सिक्ने र आफ्नो व्यक्तित्व विकास गर्ने थलो हो । त्यहाँ उनीहरूले सुरक्षित, सम्मानित र उत्साहित महसुस गर्न पाउनुपर्छ । एसइई विविध कक्षाका परीक्षामध्ये एक परीक्षा अवश्य हो तर जीवनकै अन्तिम परीक्षा होइन । एउटा परीक्षाको नतिजाका लागि बाल्यावस्था र किशोरावस्थाका अमूल्य समय, स्वास्थ्य, सिर्जनशीलता र मानसिक शान्ति गुमाउनु उचित हुँदैन । शिक्षाको सफलता विद्यार्थी विद्यालयमा कति घण्टा बस्यो वा उसले कति जिपिए ल्यायो भन्ने कुराले मात्र निर्धारण गर्दैन; उसले कति बुझ्यो, कस्ता सिप सिक्यो र जीवनप्रति कस्तो दृष्टिकोण निर्माण ग¥यो भन्ने कुराले निर्धारण गर्छ । विद्यालयलाई सिकाइको आनन्दमय केन्द्र बनाउनुपर्छ ग्रेडको प्रतिस्पर्धामा बालबालिकालाई थकित पार्ने स्थल बनाउनुहुँदैन । शिक्षाका नाममा यातना होइन, सिकाइका लागि प्रेरणा र अवसर सिर्जना गर्नु नै विद्यालयको वास्तविक दायित्व हो । यस गम्भीर विषयमा सम्बद्ध पक्षले बेलैमा ध्यान दिनु आवश्यक छ ।