चैत १, २०७७ आइतबार

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकताको निर्णय खारेज गर्न सर्वोच्चले आदेश दिएसँगै स्थिति सामान्य बन्ने अपेक्षा गरिए पनि प्रदेश १ को संसद अनिश्चित बनेको छ । भोलिका लागि बोलाइएको संसद बैठक सूचना टाँस गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । फागुन २० गतेका लागि आह्वान गरिएको बैठक पनि सूचना टाँसेर चैत २ गते सम्मका लागि स्थगित गरिएको थियो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा प्रस्तुत अविश्वासको प्रस्तावमा सहभागी हुने नेकपा सांसदमा कारवाही र निलम्बनको आधिकारिकता बारे विवाद भएको थियो । दुई पार्टी एकतापछिको नेकपा खारेज भएसँगै माओवादी केन्द्र र एमाले अलग भएपछि प्रदेश १ को संसदमा देखिएको विवाद अन्त्य भएको ठानिए पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाएपछि यसको असर प्रदेशसभासम्म देखिएको हो । प्रदेशसभा सचिवालय स्रोतका अनुसार नेकपा एमालेका दुबै समूहका सांसदको सहमतिमा प्रदेशसभा बैठक स्थगित भएको हो । मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता भई फागुन ९ गते संसदमा प्रस्ताव पेश भएको थियो ।