असार २३, २०७९ बिहिबार

कञ्चनपुर । असार मसान्त चलिरहँदा योजनाहरू पनि हतारहतारमा सम्पन्न गरिँदै छन् । असार मसान्तमा योजना अपुरो नै रहने घटना त सुन्दै आइएको थियो तर शुक्लाफाँटा नगरपालिकामा भने कीर्ते हस्ताक्षर गरी योजना फरफारक गरिएको पाइएको छ । 


वडा नम्बर ३ स्थित लहानु चौधरीको घरदेखि यज्ञराज गौतमको घरसम्म ग्राभेल हाल्ने योजनामा उपभोक्ता समितिका अध्यक्ष लहानु चौधरीले कीर्ते हस्ताक्षर गरी योजना फरफारक गरिएको पाइएको हो । सहरी विकासअन्तर्गत ३ लाखको लागतमा निर्माण भएको उक्त योजनामा अनुगमन समिति संयोजक मानबहादुर महराको हस्ताक्षर कीर्ते गरी अध्यक्ष चौधरीले योजना फरफारक गराएका हुन् । उपभोक्ता समितिका अध्यक्ष चौधरीले एक जना विद्यार्थीबाट अनुगमन समिति संयोजक महराको कीर्ते हस्ताक्षर गराएर योजनाको फरफारक गराएका हुन् । अनुगमन समिति संयोजक मानबहादुर महराले आफ्नो कीर्ते हस्ताक्षर गरेर योजनाको फरफारक गरिएको बताएका छन् । आफूलाई कुनै जानकारीविनै उपभोेक्ता समिति अध्यक्ष चौधरीले स्थानीय टिकुराम डगौराको मिलेमतोमा कीर्ते हस्ताक्षर गराएर योजना फरफारक गरिएको संयोजक महराले जानकारी दिए ।

"हामीलाई समितकाे बैठकमा पनि बोलाइएन, सार्वजनिक सुनुवाइमा पनि बोलाइएन" अनुगमन समिति संयोजक महराले भने, "अन्तिममा योजना फरफारक गर्ने बेलामा मेरो कीर्ते हस्ताक्षर गरिएको रहेछ । महराले उपभोक्ता समितिका अन्य सदस्यहरूको पनि किर्ते हस्ताक्षर गरिएको हुन सक्ने आशंका गरेका छन् । साथै उनले बुधवार नगरपालिकामा आफ्नो कीर्ते हस्ताक्षरविरुद्ध छानबिनसँगै आवश्यक कारवाही गर्न भन्दै लिखित निवेदन पेश गरेका छन् । यस्तै उपभोक्ता समितिका अध्यक्ष लहानु डगौराले आफूले कीर्ते हस्ताक्षर गरेर योजनाको फरफारक गरिएको स्वीकार गरेका छन् । "योजना फरफारक गर्दा कीर्ते भएको छ" उनले भने, "मैले अनुगमन समिति संयोजक मानबहादुर महरासँग भेट गर्न खोजेको थिए तर उहाँ भेटिनुभएन, त्यसपछि एक जना विद्यार्थीबाट उहाँको कीर्ते हस्ताक्षर गराएका हुँ ।" 

यता टिकुराम डौराले भने आफूले कुनै पनि गलत कार्य नगरेको दावी रगेका छन् । उनले आफूले आवतजावत लगायतमा सहयोग गरेको भए पनि कीर्ते गर्दा उपभोक्ता समितिका अध्यक्ष चौधरीले एक्लैले गरेको बताए । यता शुक्लाफाँटा नगरपालिकाका योजना शाखा अधिकृत विष्णु खरेलले कीर्ते हस्ताक्षर गरी योजना फरफारक गरिएको भन्ने लिखित निवेदन आएको बताउँदै आफूले उपभोक्ता समितिका अध्यक्ष लहानु चौधरीलाई विहीवार यसबारे लिखित जवाफ मागेको बताए ।