असार २३, २०७९ बिहिबार

झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा झडप भएको छ ।

गएराति मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको थियो।

सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ।

नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहरीले रोकेपछि विवाद भएको बताइएको छ ।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ।

यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य विवाद भएको बताए।

‘ड्युटीमा रहेका सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य विवाद भएको हो। झडप वा कुटपिट भएको होइन,’ उनले भने।