काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । साउन ६ र ७ गते हेटौंडामा हुने महाधिवेशनका लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा दिने क्रम सुरु भएको छ ।
यसै क्रममा नेपाल प्रेस युनियनको अध्यक्षमा क्रियाशील पत्रकार तथा युनियनका सल्लाहकार शिव लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । पूर्व-महासचिवसमेत रहेका लम्साल जुझारु पत्रकारका रुपमा परिचित छन् । उनले यसपालि साथीहरुको साथ र सहयोगबाट आफ्नो जित पक्का रहेको नेपालमार्ग कुरा गर्दै बताए । उनी भन्छन्, ‘यसपालि सबैतिरबाट सहयोग हुनेमा ढुक्क छु, साथीहरुले पनि सहयोग गर्छौं भनेका छन्, तसर्थ जित पक्का छ ।’ लम्सालले मर्यादित पत्रकारिता, प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेसागत सुरक्षाका लागि आफ्नो उम्मेद्वारी रहेको घोषणा गरेका हुन् ।
अध्यक्षमा उम्मेद्वारी दिएका लम्सालले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘नेपाल प्रेस युनियनको नवौं महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । मेरो उम्मेद्वारी अध्यक्षमा हुनेछ १ पूर्ण सहयोगको अपेक्षा राखेको छु ।’
लम्सालसँगै युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष ईश्वरी ओझा, पूर्वउपाध्यक्ष अनीता विन्दु र नेपाल पत्रकार महासंघका पूर्व-सचिव रामप्रसाद दाहाललगायतले अध्यक्षका लागि आकांक्षा देखाएका छन् ।
७५ जिल्ला शाखा र जिल्ला उपशाखा, सात प्रतिष्ठान र दुई विदेश शाखावाट निर्वाचित १५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ ।