कात्तिक २७, २०७९ आइतबार

काठमाडौं । नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार विगत ५ महिनामा (गत बैशाखदेखि भदौसम्म) १ लाख ६९ हजार ६ सय ९३ जना विदेश गएका छन् । तीमध्ये मलेसिया जानेको संख्या ८० हजार ८ सय २३ जना रहेको छ । बैशाखमा मलेसिया जानेको संख्या २ हजार ५ सय ३८ जना, जेठमा ७ हजार १ सय ४१, असारमा १५ हजार ७ सय ८०, साउनमा २२ हजार ३ सय ६१ र भदौमा ३३ हजार ३ जना गएका छन् ।


केही वर्ष पहिले साउदी अरब जानेको संख्या अत्यधिक मात्रामा बढेको थियो भने अहिले मलेसिया जानेको संख्या उच्च स्थानमा रहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । दिन प्रतिदिन नेपालीहरू वैदेशिक रोजगारीको खोजी गर्दै मलेसिया जानेको संख्या बढिरहेको उनले बताए ।

विभागको तथ्याङ्क अनुसार बैसाखदेखि भदौसम्ममा मलेसिया पछि साउदी अरब जानेको संख्या २२ हजार ७ सय ८९ रहेको छ। त्यस्तै गरी कतारमा २० हजार ६ सय ३२, कुवेतमा १७ हजार ३ सय ६२ जना र युएईमा १४ हजार ८ सय १ जना वैदेशिक रोजगारीको क्रममा गएको तथ्याङ्क छ । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाली मजदुरका रूपमा गएको देखिन्छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।