जेठ २३, २०८० मंगलबार

–नारायण विक
गल्याङ, २२ जेठ (रासस) : दलित समुदायमाथि जातका आधारमा गरिने छुवाछुत तथा भेदभाव स्याङ्जामा न्यून हुँदै गएको दलित समुदायले महसुस गर्न थालेका छन् । 

गल्याङ नगरपालिका–६ का मनिसा सेञ्चुरीले वृद्धहरुमा अझै पनि छुवाछुतको मानसिकता रहे पनि नयाँ पुस्ताका गैरदलितले छुवाछुत र विभेद नगर्ने बताउनुभयो । धारोमा पानी भर्दा, मेलापात तथा भोजभतेर र मन्दिरमा हुने भेदभाव हट्दै जान थालेको उहाँको अनुभव छ । 

मानिसहरु शिक्षित बन्नु, यससम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, समाजमा चेतनाको विकासलगायतले जातिय छुवाछुत तथा भेदभाव कम भएको उहाँको अनुभव छ । यद्यपि समाजका सबै उमेर समूहमा भने सोही अनुसारको चेतना फैलाउन नसकिएको उहाँले बताउनुभयो । 

पुराना पुस्ताबाट धर्म तथा संस्कारका नाममा दलितलगायतका जातसँग पानी बार्ने, उनीहरुलाई मन्दिर प्रवेशमा रोक लगाउने र सम्बन्ध नगाँस्ने व्यवहार भए पनि अहिले त्यो न्यून हुँदै गएको छ । 

पछिल्लो समय दलित र गैरदलित भोजभतेरमा सँगै बसेर खान थालेका छन् । निश्चित जात मात्र पस्न र पूजा गर्न पाउने भनिएका मन्दिर सबैका लागि खुला गरिएको छ । जातियरुपमा गरिने विभेदजन्य कार्यले कानूनीरुपमा दण्डित हुनुपर्ने भएकाले पनि सार्वजनिक रुपमा छुवाछुत न्यून हुँदै गएको धेरैको बुझाइ छ ।

गल्याङ नगरपालिका–११, गल्कोटका युवा उदयराज भण्डारीले आजका दिनमा सबै प्रकारका भेदभाव निन्दनीय भएको बताउनुभयो । उहाँले जातका आधारमा हुने छुवाछुत तथा भेदभाव हटाउन विभिन्न सङ्घ संस्थासँगको सहकार्यक्रम अभियान चलाइएको समेत जानकारी दिनुभयो । जातिय छुवाछुतविरुद्धको अभियान सञ्चालन गर्दा आफूहरुलाई पुराना पुस्ताबाट सामाजिक बहिस्कारको चेतावनी समेत आउने गरेको गुनासो पोख्नुभयो । यद्यपि समाजलाई पूर्णरुपमा परिवर्तन गर्न भने केही समय लाग्ने र आफूहरु सोही बाटोमा अग्रसर भएको उहाँको भनाइ छ ।

गल्याङ नगरपालिका–४, का नारायण न्यौपानेले नयाँ पुस्तामा यसप्रकारको विभेदको मानसिकता हराउँदै गएको बताउनुभयो । गल्याङ नगरपालिका–४, कै मञ्जु मगरले पनि पनि खानेपानीका धारा, मन्दिरलगायतका स्थानमा गरिने विभेद हराउँदै गएको अनुभव सुनाउनुभयो ।

दलित अधिकारकर्मी पूर्णिमा परियारले दलित एक्लैको प्रयासले जातिय छुवाछुत तथा भेदभाव निर्मूल नहुने भन्दै सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायसँग  नागरिकलाई संविधान र कानुनका बारेमा अवगत गराउन सचेतनामुलक कार्यक्रम सञ्चालन गरिदिन आग्रह गर्नुभयो ।