काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ ।
कामपाका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १०ः०० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् । योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छनोटका लागि जेठ १७ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म परीक्षा सञ्चालन हुने पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार विद्यार्थीहरूलाई कक्षा १० को पाठ्यक्रम आधारित १०० वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने पनि बताउनुभयो ।
ढकालका अनुसार कामपाले शिक्षामा गरेको लगानी, निगरानी, शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ । गत शैक्षिक सत्रमा मात्रै कामपाले रु दुई अर्ब २५ करोड बराबर छात्रवृत्ति वितरण गरेको थियो ।
कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले यो सुविधा पाएकोमा गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कूल २० हजार २८२ जना विद्यार्थीले छात्रवृत्ति पाएको कामपाको रहेको भनाइ छ । गत सोमबार एसइईको परीक्षाफल प्रकाशित भएसँगै कामपाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि दश दिनको समयसीमा निर्धारण गरेर फारम भर्न माग गरेको हो ।