काठमाडौं — अन्तर्राष्ट्रिय फिल्म महोत्सव कान्समा जुरी च्वाइस अवार्ड जित्न सफल नेपाली फिल्म ‘इलिफेन्ट्स इन द फग’ अब नेपाली दर्शकमाझ आउने भएको छ। निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गर्दै आगामी १९ भदौदेखि प्रदर्शनमा ल्याउने जानकारी दिएको हो।
सार्वजनिक ट्रेलरले हराएकी छोरीको खोजीमा संघर्ष गरिरहेकी आमाको पीडा, गाउँलेको डर र पारिवारिक तनावलाई केन्द्रमा राखेको छ। ट्रेलरमा मुख्य पात्रको बेचैनी, निराशा र आक्रोशलाई प्रस्तुत गरिएको छ भने जंगली हात्तीको त्रासका कारण प्रभावित बस्तीको अवस्था पनि देखाइएको छ। यद्यपि, ट्रेलरमा हात्तीलाई प्रत्यक्ष देखाइएको छैन।
फिल्मको कथामा आफ्नी छोरी अप्सरा हराएपछि खोजीका लागि भौतारिएकी आमाको संघर्ष समेटिएको छ। प्रहरीसँग सहयोग माग्दा देखिने असहज अवस्था, आफन्तमाथि उठ्ने शंका र सत्य खोज्ने यात्रालाई फिल्मले प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
अविनाश विक्रम शाहको निर्देशन रहेको ‘इलिफेन्ट्स इन द फग’ ले कान्समा अवार्ड पाएपछि अन्तर्राष्ट्रिय रूपमा पनि चर्चा बटुलेको थियो। जंगली हात्तीको आतंकबाट प्रभावित एक सीमान्तकृत समुदायको जीवन, डर र संघर्षलाई फिल्मले पर्दामा उतारेको छ।
फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
नेपालसँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको यो फिल्ममा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन्।
अन्डरग्राउन्ड टकिज नेपालको सहकार्यमा निर्माण भएको फिल्मको पटकथा अविनाश विक्रम शाहले लेखेका हुन्। फिल्मको कथा अविनाश विक्रम शाह र सन्दीप बादलको रहेको छ।