काठमाडौं,७ जेठ : पारा पौडी विश्व सिरिजमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएका छन् ।
यहि जेठ १५ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष एस ९ क्याटगोरीमा मेम्बरसिंह स्याङबा तथा महिला एस ६ क्याटगोरीमा जेनिशा कडायतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
दुवैले ५० र एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली प्रमुखमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् । विश्व सिरिज जापानमा हुने पारा एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको संघले जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज सफलताको शुभकामना दिदै बिदाइ गर्नुभयो ।