जेठ १३, २०८३ बुधबार

महेन्द्रनगर, १३ जेठः सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ ।
    
    सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६औँ संस्करण बिहीबारदेखि डडेल्धुरामा हुने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिनुभयो ।
    
    “छ वटा खेल सहभागी प्रतियोगितामा नौ जिल्लाका करिब ९०० खेलाडी सहभागी हुनेछन्”, सदस्य सचिव खड्काले भन्नुभयो, “त्यसका लागि सबै तयारी पूरा भएर खेलाडी डडेल्धुरा आउनेक्रम जारी छ ।”
    
    विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुने गरेको बताउँदै खड्काले सात पहाडी जिल्लामध्ये पहिलो पटक डडेल्धुरामा हुन गइरहेको बताउनुभयो । 
    
    प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलको समग्र व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ । “डडेल्धुरा खेलकुद समितिबाट सहयोग भएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक जिल्लाबाट १०७ जना खेलाडी सहभागी हुने भनेको छ, तर पहाडी जिल्लाबाट उपस्थिति अलि कम हुन सक्छ ।”
    
    प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्प्रर्धा हुनेछ । 

    यता तराईको जिल्ला कञ्चनपुरबाट ९४ जना खेलाडीसहितको टोली डडेल्धुराका लागि प्रस्थान गरिसकेको जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । 

    उहाँले ९४ खेलाडी र व्यवस्थापक गरी कुल १०६ जना कञ्चनपुरबाट प्रदेशस्तरीय रनिङ शिल्डमा सहभागी हुने लागेको जानकारी दिनुभयो ।

    जेठ १४ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले गर्ने कार्यक्रम तय भएको आयोजक प्रदेश परिषद्ले जनाएको छ ।