जेठ १५, २०८३ शुक्रबार

खाँदबारी (सङ्खुवासभा),  १५ जेठः ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारको ज्ञान र सीप विकास गर्ने उद्देश्य ‘अम्पायर तालिम’ सुरु भएको छ ।

    नेपाल ब्याडमिन्टन सङ्घ र सङ्खुवासभा ब्याडमिन्टन सङ्घद्वारा आयोजित उक्त तालिममा कोशी प्रदेशका १४ जिल्लाका ४५ जना अम्पायर सहभागी छन् । तालिममा अन्तरराष्ट्रियस्तरका अद्यावधिक नियम, खेल सञ्चालनका प्राविधिक पक्ष, अम्पायरिङका व्यावहारिक अभ्यास तथा निर्णय प्रक्रियासम्बन्धी प्रशिक्षण प्रदान गरिने तालिमका मुख्य प्रशिक्षक अन्तरराष्ट्रिय रेफ्री तथा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सचिव दीपक थापा रहनुभएको छ ।

    आयोजक संस्था सङ्खुवासभा ब्याडमिन्टन सङ्घका सचिव रुद्रमणि श्रेष्ठले ब्याडमिन्टन ओलम्पिकमा समावेश अन्तरराष्ट्रिय खेल भएकाले विश्वव्यापी रूपमा प्रचलित नियम, मापदण्ड र खेल सञ्चालन प्रक्रियाबारे प्रशिक्षण प्रदान गरिने जानकारी दिनुभयो ।

    उक्त तालिमले प्रदेशका अम्पायरहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा खेल सञ्चालन, निर्णय प्रक्रिया र अम्पायरिङसम्बन्धी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउनेछ ।