काठमाडौँ, १६ जेठ : काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा रहेका छन् ।
कामपा वडा २४ को आयोजना नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे ¥यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको खेलमा पाँच देशका २२६ सहभागी रहेको बताइएको छ ।
धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेल सुरु भएको हो । खेलको शुभारम्भ गर्दै वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उहाँको योगदानलाई चीरस्मरणीय बनाइराख्न जोशीका नामबाट प्रतियोगिता थालिएको बताउनुभयो ।
वडाले विश्व बुद्धिचाल महासङ्घ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
खेल, स्वीस सिस्टममा आधारित अर्थात् एक जना खेलाडीले नौ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ । यसमध्ये शुक्रबारसम्ममा पाँच चरणमा खेल सम्पन्न भएको छ । यी चरणमा काठमाडौँका सिएम भगवतीप्रसाद शर्मा र दीपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले पाँचवटै खेल जितेर शीर्ष स्थानमा रहनुभएको प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुले जानकारी दिनुभयो ।
खाइजुका अनुसार स्वीस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन् । बराबर भयो ०.५ अङ्क प्राप्त हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका एक जना गरी २२६ जना खेलाडी सहभागी हुनुहुन्छ । नेपालका ४८ जिल्लाबाट खेलाडी सहभागी हुनुभएको छ । उमेरका हिसाबले नौ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा १५ जना महिला हुनुहुन्छ ।
काठमाडौँ बाहिरबाट प्रतिस्पर्धाका लागि आउनुभएका खेलाडीलाई वडा कार्यालयले दुई रातको आवासीय सुविधा उपलब्ध गराएको छ ।