कीर्तिपुर (काठमाडौँ), १८ जेठः प्रथम सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले हात पारेको छ ।
कीर्तिपुरस्थित लेबोरटरी स्कुलमा आज सम्पन्न फाइनलमा पल्सर सिइसीले एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीलाई नौ विकेटले हराउँदै उपाधि प्राप्त गरेको हो ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको एन्जल्सले निर्धारित १५ ओभरमध्ये ३.१ ओभरमा नै सबै विकेट गुमाएर ३५ रन जोडेको थियो । एन्जल्सको ब्याटिङलाइ चुनौती दिँदै पल्सरका आयुष्मान कटुवालले ३.१ ओभरमा पाँच विकेट लिएका थिए । सहज लक्ष्यका लागि जवाफी ब्याटिङमा उत्रिएको पल्सरले तीन ओभरमा एक विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो ।
उपाधि पल्सर सिइसीले कपसहित रु एक लाख प्राप्त ग¥यो भने उपविजेता एन्जल्सले रनर अप कपसहित रु ५० हजार नगद लिन सफल भएकोे छ ।
प्रतियोगिताका चार खेलमा सर्वाधिक २०६ रन बनाएका पल्सरका सन्दीप साउदले ‘प्लेयर अफ दी टुर्नामेन्ट’ र उत्कृष्ट ‘ब्याटर’को पनि पुरस्कार पाएका छन् ।
त्यस्तै, ११ विकेट लिएका टोलीका ज्ञानदीप अर्यालले उत्कृष्ट बलर तथा हिमालयन क्रिकेट एकेडेमीका भावेश खड्काले ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’को पुरस्कार पाएका छन् ।
प्रतियोगिताको फाइनलमा पुग्न यसअघि भएको सेमिफाइनल खेलमा पल्सर सिइसीले हिमालयन क्रिकेट एकेडेमी (ए) लाई पाँच विकेटले हराएको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीले डिएभी क्रिकेट एकेडेमीलाई ९४ रनले हराएको थियो ।
गत जेठ १० गतेदेखि आइरिस इभेन्टको आयोजनामा कीर्तिपुरस्थित लेबोरटरी स्कुलको मैदानमा भएको उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न स्थानका १६ वटा क्रिकेट प्रशिक्षण संस्थाका १३ वर्षमुनिका क्रिकेट खेलाडी सहभागी थिए ।
आइरिस इभेन्टका अध्यक्ष जनक चन्दका अनुसार सानै उमेरदेखि क्रिकेटको जग बसाउन सबैभन्दा तल्लो उमेर समूहको प्रतियोगिता आयोजना गरिएको हो ।