जेठ १९, २०८३ मंगलबार

धरान (सुनसरी), १९ जेठः नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुँदैआएको यस वर्षको पृतनापति ट्रफी  प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । 

 पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश गरिएका छन् ।

यही जेठ ३१ गते सम्म हुने प्रतियोगितामा ८२० जना पुरुष र १७६ जना महिला खेलाडीको सहभागिता रहेको छ । 
पूर्वी पृतना हेडक्वाटरअन्तर्गतका तीन बाहिनी १० गण तथा चार वटा गुल्मका सैनिक खेलाडी प्रतियोगितामा सहभागी भएका छन् । 

उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गर्दै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा स्थापित गर्न नेपाली सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी सञ्चालन गर्दै आइरहेको छ । 

प्रधान सेनापति ट्रफी २०८३ मा पूर्वी पृतनाबाट राम्रो नतिजा ल्याउन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगिताका उत्कृष्ट टोली तथा खेलाडीले आगामी भदौमा काठमाडौँमा आयोजना हुने प्रधान सेनापति ट्रफीमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने पूर्वी पृतनाले जनाएको छ ।

प्रतियोगीता समारोहलाई सम्बोधन गर्दै सेनाका पूर्वी पृतनापति गौरवकुमार केसीले केन्द्रीयस्तरको प्रधान सेनापति ट्रफीका लागि छनोट तथा आधारस्तम्भका रूपमा रहेको यस प्रतियोगिताले सैनिक खेलाडीलाई आफ्नो खेल, कौशल र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

उहाँले प्रतियोगितामा हासिल हुने सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सम्बन्धित युनिट तथा समग्र पृतनाको प्रतिष्ठा गौरव र गरिमासँग जोडिएको उल्लेख गर्नुभयो ।

पृतनापति केसीले खेललाई सामूहिक भावना, आपसी सहयोग, अनुशासन र सहनशीलता अझ महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।