कात्तिक ३, २०७८ बुधबार

वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराएको विवरणमा आधारित तथ्याङ्कअनुसार पछिल्लो १३ वर्षमा साढे नौ हजारभन्दा बढीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार १३ वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ६४ छ तर श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने र बोर्डसँग राहत रकम नलिनेको सङ्ख्या अझै धेरै हुनसक्ने विज्ञहरूले औंल्याउँदै आएका छन् ।

खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय बढीले ज्यान गुमाएको बोर्डले जनाएको छ। बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर निधन भएका परिवारलाई सात लाख रूपैयाँ उपलब्ध गराउँछ भने बिमा कम्पनीहरूले म्यादी जीवन बिमा गरेकालाई १४ लाख रूपैयाँ हाराहारी उपलब्ध गराउँछन् ।

यस अवधिमा सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ को मृत्यु भएको छ। त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ४३, कतारमा एक हजार आठ सय ९५, संयुक्त अरब इमिरेट्स (युएई) मा नौ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमानमा ७४ को निधन भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।