जेठ २०, २०८३ बुधबार

बिर्तामोड, २० जेठ  (रासस) : झापाको मेचीनगरमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार भारतको किशनगञ्ज गलगलिया निवासी ३२ वर्षीय अजय माझी र मेचीनगर नगरपालिका–७ निवासी २१ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा साँझ ५ः५० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न बस चालक मेचीनगर नगरपालिका–११ निवासी ४५ वर्षीय निरेन धिमाल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेका छन् ।  दुर्घटनाग्रस्त बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताउनुभयो ।