काठमाडौँ, २० जेठः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा स्कुटर र मोटरसाइकल सम्बन्धित मालिकलाई जिम्मा लगाएको छ ।
सवारी हस्ताणतरण कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जथाभावी स्थानमा सवारी पार्किङ नगर्न, आधुनिक सुरक्षा प्रणाली अपनाउन तथा ‘जीपीएस ट्र्याकिङ’ प्रणाली जडान गर्न सवारी धनीलाई आग्रह गर्नुभयो ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष वैशाखसम्ममा विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५९२ वटा स्कुटर र मोटरसाइकल फेला पारिएको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले सवारी धनीलाई सुरक्षित पार्किङ प्रयोग गर्न, सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न तथा जीपीएस जडान गरी सवारीको अवस्थाबारे नियमित निगरानी गर्न सुझाव दिएको छ ।
कार्यक्रममा सहभागी सवारी धनीहरूले लामो समयपछि आफ्ना हराएका सवारी साधन फेला पारिदिएकोमा ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन् ।