जेठ २०, २०८३ बुधबार

काठमाडौँ, २० जेठः ‘सोसाइटी फर कन्जर्भेसन बायोलोजी’ (एससिबी)को एसिया क्षेत्रीय शाखाद्वारा आयोजना गरिएको छैटौँ संरक्षण आजदेखि यहाँ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनले ज्ञान आदानप्रदान र साझेदारी निर्माणको अवसर प्रदान गर्ने आयोजकको भनाइ छ । सन् २००५ मा पहिलोपटक संरक्षण एसिया कांग्रेस काठमाडौँमा भएको थियो ।
 
सम्मेलनको उद्घाटन सत्रमा अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घको स्पिसिज सर्भाइभल कमिसनका अध्यक्ष विवेक मेनन, नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रोब फेन, संरक्षण जीवविज्ञान समाज एसिया क्षेत्रका अध्यक्ष डा कौस्तुभ शर्मा, आइयुसिएनका अध्यक्ष सुश्री राजन अल मुबारक र संरक्षण जीवविज्ञान समाजका अध्यक्ष म्वेजी बद्रु मुगेर्वाले सम्बोधन गर्नुभएको थियो ।
 
सम्मेलनको महत्त्व र विषयवस्तुका बारेमा प्रकाश पार्दै उहाँहरूले प्रकृति संरक्षणका लागि तत्काल चाल्नुपर्ने कदमका बारेमा आह्वान गर्नुभएको थियो । यसले प्रकृति संरक्षण अत्यन्त महत्त्वपूर्ण भए पनि यसको सफलता स्थानीय समुदाय र आदिवासी जनजातिको संरक्षण नेतृत्व, अधिकार तथा समृद्धिलाई केन्द्रमा राख्नमा निर्भर रहने कुरामा उहाँहरूको जोड थियो । 
 
‘एसियामा जैविक विविधता र मानव कल्याणबीच सामञ्जस्य’ भन्ने नारासहित भएको तीन दिने सम्मेलनमा विभिन्न १८ देशका ५०० बढी संरक्षणकर्मी, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा सामुदायिक नेतृत्वकर्ताहरूको सहभागिता रहेको छ ।