कास्की, २० जेठः छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी मञ्जु रावतले चुमेकी छिन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आज यहाँ आयोजित उक्त प्रतिस्पर्धामा जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाकी २५ वर्षीया धाविका रावतले अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९ किमी दूरी ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरिन् ।
यसैगरी, जुम्लाको गुठीचौरकी २१ वर्षीया धाविका राज्यलक्ष्मी रावलले सो दूरी ६ घण्टा ५० मिनेट २५ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान प्राप्त गरिन् भने सोही जिल्लाको पातारासी गाउँपालिका–२ की १९ वर्षीया धाविका कल्पना बुढाले सो दूरी ७ घण्टा २० मिनेट ५६ सेकेन्डमा पूरा गरेर तेस्रो स्थान प्राप्त गरिन् ।
अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा हरेक जुन ३ तारिखमा आयोजना हुने सो प्रतियोगिताअन्तर्गत माछापुच्छ«े आधार शिविर, बगर देउराली, हिङ्कुकेभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोन, चुइले, मेलाचे, कोभ्रेडाँडा, किभ्रुङ खोला, उरी हुँदै घान्द्रुकसम्मको दूरी पार गर्नुपर्छ ।
यसैगरी, प्रतियोगिताको पुरुषतर्फको उपाधि जुम्लाकै तातोपानी–७ सर्मीका धावक दलबहादुर कुँवरले चार घण्टा चार मिनेट १० सेकेन्डमा पूरा गरेर उपाधि जिते । प्रतियोगितामा तिलक बुढामगरले सो दूरी चार घण्टा १० मिनेट आठ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान प्राप्त गरे । उनी गत वर्षका विजेता हुन् । यसैगरी, सचिन गुरुङले चार घण्टा ४९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान प्राप्त गरे ।
महिलातर्फ दुई विदेशीसहित ५१ तथा पुरुषतर्फ पाँच विदेशीसहित ५८ धावकले म्याराथनमा भाग लिएका थिए । महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ७५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख विक्रम गुरुङ र अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक ललित गुरुङलगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । विसं २०७५ देखि अन्नपूर्ण आरोहण दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
–––