असार १, २०८३ सोमबार

    काठमाडौँ, १ असारः राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताउनुभएको छ । 

    लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले जनताको विकासको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

    राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बलिदान गरेका जनताको चाहना मुलुकको चौतर्फी विकास हो । अभीष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल, अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक छ ।” 

    स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणामुखी बनाउन सक्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले प्रविधि र ‘स्मार्ट’ सेवा प्रवाहका माध्यमबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्नेमा जोड दिनुभयो । 

    संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरुप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई अझ मजबुत बनाउनु पर्ने खाँचो औँल्याउँदै राष्ट्रपतिले भन्नुभयो, “आयोगप्रतिको भरोसा एवं यसले अवलम्बन गरेका सिद्धान्त र प्रणालीका कारण परिश्रमि युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन । विगतमा हासिल गरको अनुभव, ज्ञानसँगै विश्वव्यापीरुपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीको अध्ययनका आधारमा आफ्ना कामलाई भविष्यमा अझ परिस्कृत गर्न आयोगले  योगदान गर्ने ठानेको छु ।”

    लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय बनाउँदै भावी योजना निर्धारण गर्नुपर्ने चुनौती कायम छ  भन्दै राष्ट्रपति पौडेलले वार्षिकोत्सवको क्षणमा विगतको कामका समीक्षा गरी योजना तर्जुमा गर्न सुझाव दिनुभयो । 

    उहाँले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्य कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकको अवधिमायोग्यता, निष्पक्षता र स्वच्छताको  मूल सिद्धान्तका जगमा रहेर प्रभावकारी तवर काम गरेकामा आयोगको सराहना गर्नुभयो ।