असार १४, २०८३ आइतबार

लुम्बिनी, १४ असार:लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय तथा विभिन्न सामुदायिक वन कार्यालयको सहकार्यमा अभियानको थालिएको हो ।

अभियानअन्तर्गत प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएका छन् भने ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य छ । सरकारी, निजी तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपिने छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा गाउँपालिका–२, महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर अभियानको आरम्भ गर्नुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र पर्याप्त नभई तिनको संरक्षणमा जोड दिनुभयो ।

हरेक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख गर्दै उहाँले संरक्षण अभियानलाई सफल बनाउनु सबै नागरिकको  जिम्मेवारी भएको स्मरण गराउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट निम्त्याउन सक्ने चेतावनी दिनुभयो । उहाँले वन तथा वातावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लमही नगरपालिकाका कार्यवाहक प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले वृक्षरोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।

डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षरोपणलाई सफल बनाउन वन क्षेत्रमा चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ तथा नियमित स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसालले महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा ३० हजारभन्दा बढी बिरुवा रोपिएका जानकारी दिनुभयो ।