काठमाडौँ, २२ असारः कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णाली राजमार्गमा दैनिकजसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णाली राजगमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सुर्खेतदेखि कालिकोट जाँदै गरेको यात्रुवाहक बस दैलेख सडकखण्डको कर्णाली नदीमा डुबेको पाँच दिन बितिसक्दा पनि एकीन तथ्य आउन नसक्नु विडम्बना भएको बताउनुभयो । “यो दुर्घटना हाम्रा लागि नयाँ होइन, दिनहुँजसो कर्णालीका सडकमा रगत बगिरहेका छन्”, उहाँले भन्नुभयो, “आज कर्णालीका सडक ‘सडक रहेनन्’, हरेकपटक यात्रा गर्दा नागरिकले आफ्नो ज्यान हत्केलामा राख्नुपर्ने, यो कस्तो विवशता हो ?”
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एसुदाकुमारी बरालले कर्णालीका राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेसका खड्ग शाहीले कर्णाली राजमार्गमा दुर्घटनाग्रस्त यात्रुवाहक बसको खोजी कार्यका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कर्णाली राजमार्गमा दैनिक दुर्घटनाको सङ्ख्या बढ्दै गइरहेको भनी चिन्ता व्यक्त गर्दै उक्त राजमार्ग सडकको मापदण्ड र गुणस्तरका छानबिन गर्न माग गर्नुभयो ।
राप्रपाका ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गको दैलेख खण्डमा यात्रुवाहक बस दुर्घटना भई कर्णाली नदीमा यात्रुसहित बेपत्ता भएको पाँच दिन भइसक्दा पनि गाडी र यात्रु अझैसम्म फेला नपर्नु आश्चर्यको विषय भएको भन्दै त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको बस ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । उक्त यात्रुबाहक बस अहिलेसम्म नभेटिएको अवस्थामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूले आजको बैठकमा खोजी कार्यको पछिल्लो अवस्था र सो सडकका बारेमा चिन्ता र चासो व्यक्त गर्नुहुँदै कर्णाली राजमार्गलाई स्तरोन्नति गर्न सररकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
यसैगरी रास्वपाकी अङ्किता ठाकुरले केहीदिन अघि घुमफिरमा निस्केका सप्तरी राजविराजका २९ वर्षीय नवरतन साहको ललितपुरको लाकुरीभञ्ज्याङ नजिकै दुर्घटनामा परी ज्यान गएको जानकारी गराउँदै वर्षायाममा यात्रा वा भ्रमणको योजना बनाउँदा मौसम, सडकको अवस्था र सम्भावित जोखिम तथा परिवारको सल्लाहलाई ध्यान दिन आग्रह गर्नुभयो ।
सोही पार्टीकी स्मृति सेन्चुरीले यही असार २० गते दोलखाको बैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागीबाट गोपाल श्रेष्ठको घर पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी गराउँदै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
एमालेका ऐनबहदुर शाहीले बझाङका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता आगलागीको घटनाबाट पसल तथा घर जलेर नष्ट भएको जानकारी दिँदै पीडितलाई राहत दिएर पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर बयकले अछामको कमलबजार नगरपालिका–१० मा बालविकास शिक्षिका जानकीकुमारी जैशीलाई विद्यालयमा हारिज हुन नदिएर अपमान गर्ने वडाध्यक्ष र प्रधानाध्यापकलाई तत्काल कारबाही गर्न माग गर्नुभयो ।
नेपाली कांग्रेसकी सीता थपलियाले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले सुशासन, सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार न्यूनीकरणका प्रतिबद्धता जनाए पनि जनताले त्यसको अनुभूत गर्न नसकेको धारणा राख्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले कूटनीतिक एवं संस्थागत पहल गरी फिफासँग विश्वास पुनःस्थापित गरेर नेपालमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्नुभयो ।
सोही पार्टीका जोगकुमार बरबरिया यादवले तराई÷मधेस क्षेत्रका किसान जङ्गली निलगाईबाट पीडित हुँदै आइरहेको बताउँदै जङ्गली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले मुलुकका चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत एमबिबिएस÷विडिएस ‘इन्टर्न’ चिकित्सकलाई न्यूनतम मापदण्डभन्दा कम भत्ता दिइएको तथा निर्धारित समयभन्दा लामो समयसम्म काम गर्न बाध्य परिएकामा आपत्ति व्यक्त गर्दै चिकित्सकमाथि हुने श्रम शोषण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रास्वपाकी सांसद आशिका तामाङले पछिल्लो समय ‘बर्डफ्लु’ रोगका कारण पशुपन्छीपालक किसान प्रभावित भइरहेको बताउँदै उक्त रोगको रोकथाम तथा नियन्त्रणसहित पीडित किसानलाई राहत दिन सरकारसँग अनुरोध गर्नुभयो । सोही पार्टीका प्रकाश पाठकले झापाका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध भइरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एमालेका साजिता खातुन सिद्धिकीले बाराको कलैया उपमहानगरपालिका–२१ की १३ वर्षीया सरिया खातुनको मृत्युको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । सोही पार्टीका गङ्गादेवी श्रेष्ठले ‘गोल्ड क्वाइन’ को अवैध नेटवर्किङ व्यवसायलाई तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ को छक्काङ र वडा नं ५ को कपासे गाउँ फकुम्मा खोला र अरुण नदीको कटानले उच्च जोखिममा परेको उल्लेख गर्दै प्रभावित क्षेत्रका जोखिम न्यूनीकरण गरी जनताको आधारभूत समस्या समाधान गर्न अनुरोध गर्नुभयो ।
सोही पार्टीका आरेन राईले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका आङ्गीक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले एमबिबिएस तथा बिडिएसका विद्यार्थीसँग १८ महिना नपुग्दै पाँच वर्षको शुल्क असुलेकामा आपत्ति व्यक्त गर्दै त्यसतर्पm सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रास्वपाका नरेन्द्रकुमार गुप्ताले आर्थिक र व्यावसायिक सहर वीरगञ्जमा सडक विस्तारका नाममा २५÷२५ मिटरभित्रका संरचना भत्काइँदा नागरिक बिचल्लीमा परेको भन्दै तत्काल सो कार्य रोक्न माग गर्नुभयो ।
त्यसअघि बैठकको प्रारम्भमा नेपाली कम्युनिष्ट पार्टीका बलावती शर्माले सुशासनको मुद्दा बोकेर उदाएको पार्टीले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सल्लाहकार राख्ने निर्णय गर्दा कर्मचारीतन्त्रमा त्रास छाएको बताउनुभएको थियो ।