ढाका, २२ असार : भारी वर्षाका कारण दक्षिण–पूर्वी बङ्गलादेशको कोक्स बजार जिल्लामा रहेका रोहिङ्ग्या शिविरहरूमा सोमबार बिहान गएको पहिरोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना दुई परिवारका सदस्य रहेको प्रहरीले अधिकारीले बताएका छन्।
कोक्स बजार जिल्लाका प्रहरी अधीक्षक एएनएम शजादुर रहमानले सिन्ह्वालाई बताएअनुसार भारी बर्षापछि पहिरोमा परी आठ जनाको मृत्यु रोहिङ्ग्या शरणार्थी शिविरमा भएको र अन्य एक जनाको मृत्यु कोक्स बजार नगरपालिकामा भएको छ।
उहाँले थप्नुभयो, “पहिरोका कारण शिविरमा धेरै घरहरू पनि क्षतिग्रस्त भएका छन्।”
जिल्लामा सोमबार बिहानसम्मको २४ घण्टामा २५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भारी वर्षा अझै दुई दिनसम्म जारी रहने पूर्वानुमान गरिएको छ ।
अधिकारीले जोखिमपूर्ण पहाडी किनारमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताएका छन् ।
बङ्गलादेशको पहाडी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा बाढी पहिराका घटनालाई सामान्य घटना मानिन्छ तर कहिलेकाही यो विशाल प्रकृतिक विपत्का रूपमा आउने गर्छ । अव्यवस्थित वस्ती, भिरालो क्षेत्रमा मेसिनको प्रयोग गरी सडक विस्तार र जङ्गल फँडानी र तटीय क्षेत्रमा बसाइएका बस्तीका कारण यहाँ जोखिम बढुदो रहेको छ ।