जेनेभा, २२ असार : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्याङ्कअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कङ्गोमा एक हजार ५६१ जना सङ्क्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ ।
छिमेकी देश युगान्डामा पनि दुई जनाको मृत्यु भएको छ। त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र २० जना संक्रमितमध्ये १६ जना निको भएका छन् ।
कङ्गोको तथ्याङ्कअनुसार यो महामारीमा सङ्क्रमितमध्येबाट भएको मृत्युदर ३२ प्रतिशत रहेको छ।
२५४ जना बिरामी निको भएका छन् भने घातक ज्वरोका ३५४ जना शङ्कास्पद विरामीहरूको अनुसन्धान भइरहेको छ ।
उत्तर–पूर्वी कङ्गोमा फैलिएको यो महामारी चार प्रान्तमा पुगेको छ तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ ।
‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो, जसको लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन।
बुन्डिबुग्यो इबोलाको दुई सम्भावित उपचारको परीक्षण गत बिहीबारदेखि कङ्गोमा सुरु भएको छ।
यो परीक्षणमा ‘मोनोक्लोनल एन्टिबडी एमबीपी १३४’ र ‘एन्टिभाइरल’ औषधि ‘रिमडेसिभिर’ को एक्लै र संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदैछ।
पाँच सय जनाको मृत्युको यो आँकडा आउँदा डब्ल्यूएचओ सदस्य राष्ट्रहरू गत वर्ष कोभिड–१९ महामारीको जस्तो अन्तर्राष्ट्रिय अव्यवस्था दोहोरिन नदिनका लागि तयार पारिएको महामारीबारे सम्झौताको बाँकी भागमा छलफल गर्न फेरि भेला भएका छन्।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सोमबार सदस्य राष्ट्रहरूलाई चेतावनी दिँदै भन्नुभयो, “अर्को महामारीले हामीलाई तयार हुनका लागि पर्खने छैन।”
उहाँले भन्नुभयो, “अहिले कङ्गोमा भइरहेको इबोला महामारी यसको प्रमाण हो। यो कुनै टाढाको काल्पनिक घटना होइन, यो वास्तवमै भइरहेको छ।”
उहाँले अगाडि भन्नुभयो, “इबोला अर्को महामारी नहुन सक्छ। तर यो एउटा दुःखद सम्झना हो कि खतरा कहिल्यै पूर्ण रूपमा हराउँदैन।”
कङ्गोको यो १७औँ इबोला महामारी गत मे १५ मा खनिज सम्पन्न तर अशान्त इटुरी प्रान्तमा केही अज्ञात कारणले मृत्यु भएपछि घोषणा गरिएको थियो। यो भाइरस निकट सम्पर्क र सङ्क्रमित शारीरिक तरल पदार्थबाट फैलिन्छ।
फ्रान्सको स्वास्थ्य मन्त्रीले शनिबार बताएअनुसार डीआर कङ्गोबाट फ्रान्स गएर इबोला सङ्क्रमण पुष्टि भएको पहिलो चिकित्सकलाई निको भएपछि अस्पतालबाट घर पठाइएको छ । उहाँ जुन २३ मा कङ्गोबाट फ्रान्स जानुभएको थियो ।