राजु विश्वकर्मा
जनकपुरधाम, २४ असारः बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको बाख्रा खोरबाट मिमियाहट सुनिन्छ । हातमा घाँसको बोरा बोकेर खोरतर्फ लागेकी दनुवारको अनुहारमा अहिले फरक आत्मविश्वास झल्किन्छ । केही वर्षअघि आर्थिक अभावको चिन्ता देखिने उहाँको अनुहारमा अहिले छुट्टै किसिमको चमक देखिन्छ । दैनिक घरखर्च जुटाउन सङ्घर्ष गर्दै आउनुभएका दनुवारको भविष्य अन्योलमा थियो । आज भने उहाँ गाउँका अन्य महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
“हाम्रो जीवन केही वर्षअघि निकै कठिन थियो, अरूको खेत अधियाँमा जोतेर परिवार चलाउनुपर्ने अवस्था थियो”, दनुवार भन्नुहुन्छ, “पहिला दैनिक खर्च जुटाउनै मुस्किल पर्ने भएकाले भविष्यबारे ठूलो सपना देख्ने अवस्था थिएन्, तर परिस्थितिसँग हार मान्नुभएन ।” दुई वटा स्थानीय बाख्रा पालेर सुरु गरेको प्रयास विस्तारै व्यवसायमा परिणत भयो, चार वटा बाख्राबाट सुरु भएको बाख्रा फार्ममा अहिले बोयर जातका बाख्रा, खसी र बोकासहित करिब २१ वटा रहेको उहाँको भनाइ छ ।
उत्पादन बढाउने उद्देश्यले उहाँले बोयर जातका पाठा र बोका ल्याएर स्थानीय जातसँग क्रस प्रजनन गराउनुभयो । “बोयर जातका बाख्रा छिटो बढ्ने, रोग प्रतिरोधी हुने र मासु उत्पादन बढी हुने भएकाले बजारमा राम्रो मूल्य पाइन्छ”, दनुवार भन्नुहुन्छ, “त्यही भएर बाख्रापालन फस्टाउँदै गएको छ, यसपालि अझै बाख्रा थप्ने योजना छ ।” सुरुमा गाउँलेले उहाँको निर्णयप्रति आशङ्का व्यक्त गरे । “विदेशी बाख्रा पालेर के हुन्छ ? भन्ने टिप्पणी पनि सुनिन् तर अहिले त्यही गाउँलेहरू उहाँको खोरमा पुगेर व्यवस्थापन सिक्न थालेका छन् ।”
उहाँको परिवार अहिले ऋण तिर्ने अवस्थाबाट नियमित आम्दानी गर्ने चरणमा पुगेको छ । दुई कट्ठा जग्गा घाँसखेती गर्नुभएका उहाँलाई पशु आहारको समस्या छैन । बजारमा खसीबोकाको माग बढिरहेकाले उत्पादन बिक्रीमा पनि कठिनाइ नरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बाख्रापालनले परिवारको आर्थिक अवस्था मात्र सुधारेको छैन, समाजमा सम्मानसमेत बढाएको छ । रागेश्वरीदेवीको सफलता व्यक्तिगत उपलब्धिमा सीमित छैन । यसबाट गाउँका अन्य महिला पनि बाख्रापालनप्रति आकर्षित भएका छन् ।
बटेश्वर गाउँपालिका–२ का मनिताकुमारी सिंह नेतृत्वमा गठन भएको ‘राजदेवी पशुपालक समूह’ महिला उद्यमशीलताको केन्द्र बनेको छ । समूहमा आबद्ध २५ जना महिलाले घरायसी कामपछि बाँकी समयलाई उत्पादनमूलक काममा लगाउन थालेका छन् । एकअर्काबाट सिक्ने, अनुभव साट्ने र समस्याको सामूहिक समाधान खोज्ने संस्कृतिले महिलाको आत्मविश्वास बढाएको छ ।
सोही ठाउँका ललितादेवी ठाकुर पनि परिवर्तनको अर्को उदाहरण हुन् । पहिले धानबाली र तरकारीखेती गर्दै आउनुभएका ठाकुरले पनि बाख्रापालन रोज्नुभएको छ । अहिले आफ्नै जग्गा र भाडामा लिएको जमिनमा घाँसखेती गर्दै व्यवसाय विस्तार गरिरहनुभएका उहाँ बाख्रापालनलाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ । “सुरुमा एउटा बाख्रा मात्र पालेको थिएँ, रागेश्वरी दिदीले बाख्रापालनबाट राम्रो फाइदा भएको देखेपछि मैले पनि बाख्रापालनलाई व्यावसायिक रुपमा अघि बढाएँ”, ललिता भन्नुहुन्छ, “अहिले १७ वटा बाख्रा पालेकी छु, अझै बढाउने सोचमा छु ।” सोही ठाउँका अर्की कृषक सरितादेवी सिंह पनि बिहानदेखि बेलुकासम्म बाख्राको स्याहारसुसारमा व्यस्त रहनुहुन्छ । उहाँका लागि बाख्रापालन आम्दानीको माध्यम मात्र होइन, सक्रिय र सम्मानजनक जीवन जिउने आधार बनेको छ ।
यसरी महिला समूहको सक्रियताले गाउँको सामाजिक संरचनामा परिवर्तन ल्याएको छ । पहिले व्यक्तिगत रूपमा काम गर्ने महिला अहिले समूहमार्फत योजना बनाउने, सरकारी निकायसँग समन्वय गर्ने, बैंकसँग कारोबार गर्ने र सामूहिक रूपमा बजार खोज्ने काममा सक्रिय छन् । यसले उहाँहरूमा नेतृत्व क्षमता विकास हुनुका साथै सामाजिक सम्बन्ध पनि मजबुत भएको छ । बटेश्वर गाउँपालिकामा सक्रिय ‘राजदेवी पशुपालन समूह’ले सदस्यलाई घाँसखेती, प्रजनन व्यवस्थापन, खोर सुधार, रोग नियन्त्रण तथा आधुनिक पशुपालनसम्बन्धी तालिम उपलब्ध गराउँदै आएको छ । ती समूहमार्फत पशु आहारका लागि उत्पादन गरिने पोषणयुक्त घाँस धनुषा र महोत्तरीका पशुपालन गर्ने किसानसम्म पुग्ने गरेका छन् । यसले दिगो पशुपालनको आधार निर्माण गरेको छ ।
“समूहमार्फत अहिले बाख्रा तथा अन्य पशुको आहारका लागि पास्पालम, किम्बु, बदामे, मेन्डुला, टाँकी, भटमास घाँसलगायत उन्नत जातका घाँस उत्पादन भइरहेका छन्”, समूहका अध्यक्ष मनिता सिंह भन्नुहुन्छ, “यो वर्ष मात्रै हामीले करिब रु छ लाख मूल्य बराबरको घाँस उत्पादन ग¥र्याैं, रु डेढ लाखको त घाँस बेच्यौँ ।”
सरकारी तथा विकास साझेदार संस्थाको सहयोगले यस अभियानलाई थप बल दिएको छ । विश्व बैंक र विश्व कृषि तथा खाद्यसुरक्षा कार्यक्रमको आर्थिक सहयोगमा नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल) आयोजना कलस्टर इकाई धनुषाद्वारा सञ्चालित परियोजनाअन्तर्गत बाख्रापालनका लागि बोयर जातका बोका तथा बाख्रा उपलब्ध गराउने, खोर निर्माण गरिदिने, प्राविधिक सेवा, घाँस उत्पादनका लागि नर्सरी सञ्चालन गर्ने र अन्य सामग्रीमा अनुदान दिने कार्यक्रम सञ्चालन गरिएका छन् ।
यस्ता कार्यक्रमले महिलालाई व्यवसाय विस्तार गर्न सहज बनाएको छ । परियोजनामार्फत अनुदानसँगै आधुनिक प्रविधि र व्यवस्थापनबारे जानकारी पाएपछि उत्पादनमा गुणस्तरीय सुधार आएको समूहका महिला कृषक बताउँछन् ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल) आयोजना कलस्टर इकाई धनुषा कृषि अधिकृत शिवचन्द्र झाका अनुसार परियोजनाअन्तर्गत बाख्रापालनका लागि सो महिला समूहमा २५ जना सदस्यका लागि २५ वटा बाख्रा खोर, दुई वटा नमुना बोका खोर निर्माण गर्नुका साथै प्रत्येक सदस्यहरुलाई एक÷एक वटा बाख्रा, समूहलाई चाप कटर, तराजुलगायत सामग्री अनुदानमा उपलब्ध गराइएको छ । घाँसेबाली नर्सरीका लागि समूहलाई परियोजनाकोतर्फबाट रु पाँच लाख ५० हजार अनुदान उपलब्ध गराइएको उहाँको भनाइ छ ।
नेपालमा खसीबोकाको मासुको माग बर्सेनि बढ्दो छ । विशेषगरी चाडपर्व, विवाह तथा अन्य सामाजिक अवसरमा यसको खपत उच्च हुने भएकाले बजारको सम्भावना बलियो छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका तथ्याङ्कले जिल्लामा खसीबोकाको मासु उत्पादन निरन्तर बढिरहेको देखाउँछ । स्थानीय उत्पादन बढ्दै जाँदा आयातमा निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनुषाका प्रमुख डा सञ्जीवकुमार ठाकुर बताउनुहुन्छ ।
बाख्रापालनले महिलाको आर्थिक अवस्था सुधार्नुका साथै उहाँहरूको सामाजिक भूमिकामा पनि परिवर्तन ल्याएको छ । पहिले परिवारको आर्थिक निर्णयमा सीमित सहभागिता भएका महिला अहिले आफ्नै व्यवसाय सञ्चालन गर्छन्, बैंकसँग कारोबार गर्छन्, पशु बिमा गराउँछन् र आफ्ना सन्तानको शिक्षा तथा स्वास्थ्यमा लगानी गर्न सक्षम भएका छन् । यसले महिलाप्रतिको सामाजिक दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन ल्याएको समाजका अगुवा सरोज कुशवाहा बताउनुहुन्छ ।
जलवायु सहनशीलता अभिवृद्धि गर्ने, कृषि उत्पादकत्व बढाउने तथा लक्षित साना कृषक समुदायको पोषण अभ्यासमा सुधार ल्याउने उद्देश्यले धनुषाको बटेश्वर र जनकनन्दनी गाउँपालिकामा तथा महोत्तरीको सम्सी र सोनमा गाउँपालिकामा उक्त परियोजना सञ्चालनमा छन् । परियोजनाअन्तर्गत दुई जिल्लाका चार पालिकामा ५५३ वटा समूह सक्रिय रहेको फ्यानसेप नेपालको आयोजना कलस्टर इकाई धनुषाले जनाएको छ ।
इकाइका कार्यालय प्रमुख रविलाल शर्माका अनुसार सक्रिय रहेका चार सय समूहलाई साना अनुदान, पूरक अनुदान, प्रवर्द्धन कार्यक्रम अनुदान र घरबारी पोषण बगैँचा योजनामार्फत समूहको कामको मूल्याङ्कन गरी अनुदान सिधै किसानको खातामा पठाउँदै आएको छ । सिमान्तकृत, साना किसान, गर्भवती महिलालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख शर्माको कथन छ । उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ र व्यवस्थित बजारीकरणमा ध्यान दिनसके किसानले अझ बढी लाभ लिनसक्ने देखिन्छ ।
स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले महिला उद्यमशीलतालाई प्राथमिकतामा राखी प्राविधिक सेवा विस्तार, सहुलियतपूर्ण कर्जा, पशु बिमा, उन्नत जातको प्रवर्द्धन तथा बजार व्यवस्थापनमा थप लगानी गर्नु आवश्यक छ । महिला समूहलाई उत्पादनसँगै प्रशोधन र मूल्य अभिवृद्धि उद्योगसँग जोड्नसके ग्रामीण अर्थतन्त्रलाई अझ सुदृढ बनाउन सकिने बटेश्वर गाउँपालिका–२ का वडाध्यक्ष विजय महतो बताउनुहुन्छ ।
महिलाको बाख्रापालन अभियानले सामूहिक प्रयास, निरन्तर परिश्रम, आधुनिक सोच र उपयुक्त सहयोग भए ग्रामीण महिलाले पनि सफल उद्यमी बन्न सक्छन् भने एउटा महत्वपूर्ण सन्देश दिएको छ ।
वडाध्यक्ष महतो भन्नुहुन्छ, “कुनै समय घरभित्र सीमित रहने महिला आज आफ्नै व्यवसाय सञ्चालन गर्दै परिवार, समाज र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेका छन् ।” खोरबाट सुनिने बाख्राको मिमियाहट आज महिलाका लागि केबल पशुको आवाज होइन, आत्मनिर्भरताको सङ्गीत बनेको छ । यही सङ्गीतले ग्रामीण महिलाको जीवनमा नयाँ आशा, नयाँ सम्भावना र समृद्ध भविष्यको बाटो खोलेको छ ।