असार २४, २०८३ बुधबार

काठमाडौँ, २४ असारः  प्रतिनिधिसभाको पहिलो बैठक अहिले केही समयका लागि स्थगित भएको छ । 

बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण बैठक स्थगित भएको हो ।

    बैठकको सुरुमै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो । यसैबीच नेकपा (एमाले)का राजेन्द्रकुमार राईले बोल्न सुरु गरेसँगै सभामुख डोलप्रसाद अर्यालले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिनुभयो । त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गर्नुभयो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद टीका सङ्ग्रौला (ज्वाला)ले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गर्नुभयो । सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएपछि सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिनुभयो । तर विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभयो ।

     आजको बैठकको सुरुमा केही सांसदले सीमासम्बन्धी अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गर्नुभएको थियो । 

    यसअघि बैठकमा सभामुख आर्यालले नेपाली कांग्रेसका प्रमिलाकुमारी गच्छदारलाई बोल्न समय दिनुभएको थियो । सांसद गच्छदारले आफूहरूले पटकपटक आवाज उठाए पनि स्पष्ट जवाफ नआएको गुनासो गर्नुभयो ।