असार २९, २०८३ सोमबार

काठमाडौँ, २९ असारः यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार  आम्दानी गरेको छ । 
 
     चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने गरेको सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ । 
 
    अभिनेत्री स्वस्तिमा खड्का लगायत अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । 

    यस वर्षको  पहिलो तीन महिनामा सबैभन्दा कम कमाउने चलचित्र ‘जाँड’ बनेको छ । सार्वजनिक विवरणअनुसार उक्त चलचित्रले रु एक लाख २६ हजार आम्दानी गरेको छ । 

    राजु शाहले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

    त्यसैगरी, गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले रु एक करोड ७७ लाख छ हजार ५८३ कमाई गरेको छ । 

    सो चलचित्र जोन योञ्जनको निर्देशनमा तयार भएको  हो । चलचित्रमा मुकुन भुसाल, सुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

    यही असार ५ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘आइएम जितबहादुर’ ले घरेलुबजारमा राम्रो कमाई गर्न सकेन । यस अवधिमा सो चलचित्रले जम्मा रु ३१ लाख ३६ हजार ११२ कमाएको छ ।
 
    कलाकार जीतु नेपालले निर्माण तथा अभिनय गर्नुभएको उक्त चलचित्रमा कलाकार नेपालसँगै वर्षा राउत, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।