असार २९, २०८३ सोमबार

काठमाडौँ, २९ असार :  नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
    नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।
नियक्तिपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउनुभएका दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो । 
    सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्नसक्ने विश्वासका आधारमा अध्यक्ष पदमा छनोट गरेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले नियामक निकायका प्रमुखका हैसियतले उल्लेखनीय भूमिका निर्वाह गरी सूचना र सञ्चारका क्षेत्रमा उदाहरणीय काम गर्न निर्देशन दिनुभयो । 

    उहाँले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । सञ्चारमन्त्रीले वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
त्यस्तै, सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चार क्षेत्रलाई अझ बलियो बनाउन सकिए त्यसबाट सबैभन्दा बढी लाभ सञ्चार जगतले नै लिने भएकाले काउन्सिलका तर्फबाट सकारात्मक हस्तक्षेप हुन आवश्यक रहेको बताउनुभयो ।  

    उहाँले पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्नुहुँदै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिनुभयो । 
    साथै उहाँले क्षमता अभाव भएका संस्थाले प्रभावकारी काम गर्न नसक्ने भन्दै सञ्चारमन्त्रीले प्रेस काउन्सिललाई पनि थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । चुनौतीपूर्ण समयमा दुवै नियामक निकायको नेतृत्व सम्हाल्नुभएको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले कानुन र विधिको सीमाभित्र रहेर नागरिकको हितलाई केन्द्रमा राखी कामकाज गर्न निर्देशन दिनुभयो ।
    सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको महत्वका बारेमा चर्चा गर्नुहुँदै नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

    समयानुकूल आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि उपयुक्त वातावरण बनाउन मन्त्रालय सदैव तयार रहेको स्पष्ट गर्नुहुँदै उहाँले सञ्चार मन्त्रालयअन्तर्गतका महत्वपूर्ण दुई नियामक संस्थाको नेतृत्वकर्ताका हैसियतले थप जिम्मेवारीका साथ व्यवस्थापकीय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।  
    
प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्नुहुँदै  त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

    उहाँले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताउनुभयो । सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने बताउनुभयो ।

    त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष  घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमीकमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उहाँले बताउनुभयो । अध्यक्ष घिमिरेले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणका पक्षमा आफू रहेको स्पष्ट गर्दै सञ्चार मन्त्रालयसहित सरोकारवाला निकायसँगको सहयोग, सहकार्यमा र समन्वयमा गुणस्तरीय एवं सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।