वासिङ्टन, ३२ असार : अमेरिकाले ब्राजिलले अनुचित व्यापार अभ्यास गरेको निष्कर्ष निकाल्दै जुलाई २२ देखि ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लागू गर्ने घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (युएसटीआर) ले करिब एक वर्ष लामो अनुसन्धानपछि यस्तो निर्णय गरिएको जनाएको हो ।
अमेरिकाका अनुसार नयाँ शुल्क विश्वको दशौँ ठूलो अर्थतन्त्र ब्राजिलसँगका व्यापारिक असन्तुलन र अनुचित अभ्यासलाई सम्बोधन गर्ने उद्देश्यले लागू गरिएको हो । यद्यपि, अमेरिकी उत्पादन र आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पर्न सक्ने केही वस्तुलाई भने शुल्कबाट छुट दिइएको छ । छुट पाउने वस्तुमा कफी, गाईको मासु, सुन्तला, सुन्तलाको रस, केही तेल तथा ग्यासजन्य ऊर्जा उत्पादन, साथै एयरोस्पेस उद्योगमा प्रयोग हुने पार्टपुर्जा समावेश छन् ।
युएसटीआरले ब्राजिलविरुद्ध भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यान्वयन, आफ्नै भन्सार नीति तथा अन्य व्यापारिक अभ्यासलाई अनुचित ठहर गर्दै कारबाही आवश्यक भएको जनाएको छ । यद्यपि, अमेरिकाले लामो समयदेखि ब्राजिलसँग वस्तु व्यापारमा अधिशेष कायम राख्दै आएको तथ्य पनि सार्वजनिक अभिलेखमा उल्लेख छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकी कामदार र व्यवसायले समान प्रतिस्पर्धात्मक वातावरण पाउन यस्तो कदम आवश्यक भएको बताउनुभयो । उहाँका अनुसार गत एक वर्षदेखि भएका द्विपक्षीय वार्ताले विवादित विषय समाधान गर्न नसके पनि ब्राजिलसँग आवश्यक सुधारका लागि वार्ता जारी राख्न अमेरिका तयार छ ।
गत जुनमा शुल्क प्रस्ताव सार्वजनिक भएपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले त्यसको कडा विरोध गर्नुभएको थियो । उहाँले यस विषयलाई व्यापारभन्दा बढी राजनीतिक प्रेरणासँग जोड्दै आगामी अक्टोबरको निर्वाचन र आफ्ना प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोसँग सम्बन्धित गतिविधितर्फ सङ्केत गर्नुभएको थियो । फ्लाभियो, पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ र उहाँ हालै वासिङ्टन भ्रमणमा जानुभएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति लुला नेतृत्वको सरकारले अमेरिकासँग सद्भावपूर्ण ढङ्गले वार्ता नगरेको आरोप लगाउँदै उहाँको आर्थिक नीतिले दुवै देशका नागरिकको हितमा काम नगरेको टिप्पणी गर्नुभयो ।
यो शुल्क सन् १९७४ को अमेरिकी व्यापार ऐनको धारा ३०१ अन्तर्गत लगाइएको हो । यसअघि अमेरिकी सर्वोच्च अदालतले सन् १९७७ को ‘इन्टरनेसनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट’ (आइइइपीए) अन्तर्गत ट्रम्प प्रशासनले लगाएका केही व्यापक शुल्क आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको ठहर गरेको थियो ।
यसअघि ट्रम्प प्रशासनले सन् २०२२ को ब्राजिलको राष्ट्रपतीय निर्वाचनपछि पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथिको अभियोजनको विरोधस्वरूप ब्राजिलमाथि ५० प्रतिशत कर लगाएको थियो । यद्यपि, गत मे महिनामा ह्वाइट हाउसमा भएको भेटपछि राष्ट्रपति ट्रम्प र राष्ट्रपति लुलाबीचको सम्बन्धमा केही सुधार देखिएको आकलन गरिएको थियो ।
–––