असार ३२, २०८३ बिहिबार

वासिङ्टन, ३२ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि रोकिराखेकी एक अमेरिकी नागरिकलाई रिहा गरी देश छोड्न अनुमति दिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ती महिला अहिले सुरक्षित रूपमा इरानबाहिर पुगेकी छन् र स्वास्थ्य अवस्था पनि राम्रो छ ।

    राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इरानको यस कदमप्रति आभार व्यक्त गर्दै यसलाई सद्भावनाको सङ्केतका रूपमा लिएको बताउनुभएको छ । यद्यपि, उहाँले सुरुमा ती महिलाको नाम वा हिरासतको कारण खुलाउनुभएको थिएन । उहाँले उनलाई ‘गलत रूपमा हिरासतमा राखिएको’ अमेरिकी नागरिक मात्र उल्लेख गर्नुभएको थियो ।

    लगत्तै एक वकिलले प्रतिक्रिया जनाउँदै रिहा भएकी महिला आफ्नी मुवक्किल डेना करारी रहेको जानकारी दिनुभयो । वकिल जारेड जेन्सरका अनुसार अमेरिकी–इरानी नागरिक करारीलाई शत्रु राष्ट्रसँग सहकार्य र जासुसी गरेको आरोपमा इरानमा रोकिएको थियो । उहाँ अहिले सुरक्षित रूपमा इरानबाट बाहिरिएर अमेरिका फर्किनुभएको बताइएको छ ।

    जेन्सरका अनुसार करारीले सञ्चालन गर्दै आएको ‘चिल्ड्रेन अफ मेहर फाउन्डेसन’ नामक गैरनाफामूलक संस्थाले निजी सहयोगमार्फत इरानका विपन्न बालबालिकालाई सहायता उपलब्ध गराउँदै आएको थियो । यही गतिविधिलाई लिएर इरानी अधिकारीहरूको निगरानीमा पर्नुभएको उहाँको दाबी छ ।

    वकिलका अनुसार करारीलाई औपचारिक रूपमा जेलमा नराखिए पनि देश छोड्न प्रतिबन्ध लगाइएको थियो । साथै, इरानको गुप्तचर तथा सुरक्षा मन्त्रालयले उहाँसँग दर्जनौँ पटक सोधपुछ गरेको र त्यसक्रममा शारीरिक तथा मानसिक तनाव बेहोर्नुपरेको उल्लेख गरिएको छ ।

    जेन्सरले इरानसँग अन्य अमेरिकी नागरिक तथा राजनीतिक बन्दीलाई पनि रिहा गर्न आग्रह गर्नुभएको छ । पश्चिमी मुलुकहरूले इरानले विदेशी नागरिकलाई हिरासतमा राखेर विभिन्न कूटनीतिक वार्तामा दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्ने आरोप लगाउँदै आएका छन् ।

    यसअघि गत मे महिनामा अमेरिकाले पनि इरानमा १० वर्ष जेल सजाय भोगेका अमेरिकी स्थायी बसोबासको हैसियत भएका एक इरानी नागरिक रिहा भएको घोषणा गरेको थियो ।

    गत महिना अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भए पनि त्यसपछि दुवै पक्षबीच पुनः सैन्य तनाव बढ्दै क्षेत्रीय सङ्घर्ष फेरि चर्किएको छ ।