काठमाडौँ — सरकारले गृहमन्त्री सुधन गुरुङले सुनसरी र मधेस प्रदेशको भ्रमणका क्रममा कुनै विशेष वा औपचारिक सम्झौता नगरेको स्पष्ट पारेको छ।
मंगलबार सञ्चारकर्मीसँगको भेटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीले प्रभावित क्षेत्रका सरोकारवालासँग भेटघाट गरी घटनाबारे जानकारी लिएको र समस्या समाधानका लागि सरकार संवादमार्फत अघि बढ्न प्रतिबद्ध रहेको सन्देश दिएको बताए।
पूर्वी तराई भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलन प्रभावित पक्षसँग छलफल गरेका थिए। उक्त भेटघाटपछि सार्वजनिक भएका सम्भावित सहमतिबारे उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले कुनै औपचारिक वा ठोस सहमति नभएको स्पष्ट पारे। उनले यस विषयमा थप विवरण आवश्यक परे गृहमन्त्रीले नै आधिकारिक रूपमा जानकारी गराउने बताए।