भदौ ११, २०८३ बिहिबार

सर्लाही, ११ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन  भएका छन् । 
    
    लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन् । उहाँहरु केही दिनअघि गोसाइँकुण्ड तीर्थयात्रामा जानुभएको थियो । 

    सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन हुनुभएको परिवारजनले बताएका छन् । 

    उहाँहरु साथीहरूसँग मिलेर रसुवाको गोसाइँकुण्ड यात्रामा जानुभएको र बुधबार बिहानबाट सम्पर्कविहीन हुनुभएको मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिनुभयो । 

    भोटेकोशीको बाढीले  त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन हुनुहुन्छ ।  

    उहाँहरु कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उहाँहरु सम्पर्कविहीन हुनुभएको हो । उहाँहरूको खोजीका लागि परिवारले हारगुहार गर्नुभएको छ । 

    जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन हुनुभएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ ।